काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रष्टको जग्गा लिजमा दिने र समय थपको विषयमा एक साताभित्र अध्ययन गरेर तयारी अवस्थामा बस्न प्रधानमन्त्री कार्यालय र नेपाल ट्रष्टलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बसेको समिति बैठकले नेपाल ट्रष्टका कार्यालयका निमित्त सचिव राजेश्वर ज्ञवालीबाट चितबुझ्दो जवाफ नआएको भन्दै एक साताभित्र सबै विषयमा अध्ययन गरेर बस्न निर्देशन दिएको हो।
‘नेपाल ट्रष्टको सम्पति भाडामा लगाउनेदेखि समय थपका विषयका स्पष्ट जवाफ चाहिन्छ,’ सभापति भरत शाहले भने, ‘पढेर बस्नुहोस, एक सातापछि जुनुसुकै दिन हामी छलफलका लागि बोलाउँछौं।’
समितिको छलफलमा सांसदहरु विरोध खतिवडा, प्रेम आले, मिनेन्द्र रिजाल र तेजुला चौधरीले दरबारमार्ग र गोकर्ण फरेस्टको समय थपबारे प्रश्न गरेका थिए। तर, ट्रष्टका निमित्त सचिव ज्ञवालीले समितिमा झार टार्ने गरीमात्रै उत्तर दिएका थिए।
ज्ञवालीले दिएको जवाफमा सांसदहरुले बारम्बार प्रश्न गरिरहेका थिए। सांसदहरुको जिज्ञासा बढ्दै गएपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले अध्ययन गरेर आएर सबै प्रश्नको जवाफ आफैंले दिने प्रतिवद्धता जनाएका थिए। सचिव विडारीले सांसदका प्रश्न मुख्य सचिवसम्म पुर्याउने भन्दै केही समय अध्ययन गर्न समय मागेका थिए। सचिवकै आग्रहमा समितिले एक साताभित्र सासंदको जवाफ दिनसक्ने गरी अध्ययन गरेर बस्न निर्देश्न दिएको हो। सचिव विडारी आफैंले सांसदले उठाएका प्रश्नमा दिएको जवाफ चितबुझदो नभएको स्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।