काठमाडौं– प्रदेश २ सरकार र युके एड ‘सीप कार्यक्रम’ को सहकार्यमा ‘एमएडब्लू एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसिबी अपरेटर तालिम केन्द्र सञ्चालनमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरुपमा तालिम केन्द्र उद्घाटन गरेका हुन्।
जेसिबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन सञ्चालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु रहेको छ। भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मतलगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य रहेको ‘एमएडब्लू एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ।
तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पूर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। ‘कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै आवश्यक हुन्छ। यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लू, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं। यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं।’
उद्घाटन कार्यक्रममा एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले एमएडब्लू अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नु आफ्नो जिम्मेवारी भएको बताए। यस्ता तालिम केन्द्र देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने आफूहरुको योजना रहेको उनले बताए ।
नेपालका लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालि अन्तर्गतको ‘एमएडब्लू एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्र सञ्चालन गरेको हो। यो एमएडब्लू अर्थमुभर्सले सञ्चालन गरेको दोस्रो तालिम केन्द्र हो। यो कम्पनीले आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र सञ्चालन गर्दै आएको छ। जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भईसकेका छन्।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन्। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिन लोकप्रिय छन्। पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।