काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएको दुईवटा टेस्ला गाडी अर्थ मन्त्रालयले नियन्त्रणमा लिएको छ। काठमाडौं ल्याइँदै गरेको अवस्थामा भन्सारको विशेष टोलीले धादिङबाट ती दुई गाडी नियन्त्रणमा लिइएको अर्थ मन्त्रालयले जनाएको छ।
साउथ चाइना एक्जिम लिमिटेडले उपलब्ध आयातकर्ता श्रीमा डिष्ट्रिब्युटर्स प्रालिलाई दिएको भन्सार कमर्सियल इन्भोइसअनुसार दुईवटा गाडी २ लाख १० हजार अमेरिकी डलरमा भित्र्याइएको थियो।
आधिकारिक आयातकर्ता विना भित्र्याइएका ती गाडी बुधबार बेलुकी नियन्त्रणमा लिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आयातकर्ताले प्रति गाडी १२ लाख २० हजार १२० रुपैयाँ भन्सार राजस्व, १७ लाख ४४ हजार ७७१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ६ लाख ६ हजार ६४४ रुपैयाँ सडक विकास दस्तुर तिरेर भित्र्याएका थिए।
तर जाँचपास प्रक्रियामा त्रुटि भएको भन्दै सरकारले गाडी नियन्त्रणमा लिएको हो।
'जाँचपासका क्रममा केही कमजोरी भएको रहेछ, कमजोरी भएको थाहा पाएपछि हामीले त्यसलाई नियन्त्रणमा लिएका छौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। गाडी नियन्त्रणमा लिएर वीरगञ्ज पठाइएको छ।
कर्मचारीदेखि आयातकर्तासम्म छानबिनको दायरामा
अर्थ मन्त्रालयले सवारी साधन आयात गर्ने आयातकर्तादेखि जाँचपास गराउने कर्मचारीमाथि छानबिन गर्ने तयारी गरेको छ। 'जाँचपासमा गम्भीर नभएको देखिएको छ, त्यसैले गर्दा छानबिन अघि बढाउनुपर्ने देखिएको छ,' स्रोतले भन्यो।
छानबिनपछि गाडी जफतसम्ममा जान सकिने अर्थका उच्च अधिकारीहरुको दावी छ। आधिकारिक आयातकर्ता विना नेपालमा सवारी साधन भित्र्याउन नपाउने कानुनी व्यवस्थाअनुसार यी गाडी जफत गर्ने भनिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।