काठमाडौं- सरकारले राष्ट्रिय गौरवको सुनकोशी-मरिन बहुद्देश्शीय सिँचाइ आयोजनाका लागि ऋण जुटाउन चीनको निर्यात-आयात (एक्जिम) बैंकलाई प्रस्ताव गरेको छ। मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिएको यो आयोजना अघि बढाउन चिनियाँ बैंकलाई प्रस्ताव गरिएको हो।
सुनकोशीको पानी मरिन खोलामा फर्काएर तराईका आधा दर्जन जिल्लामा सिँचाइको सुविधा दिने गरी अघि बढाउन लागिएको यो आयोजना बागमती सिँचाइ आयोजनाकै एउटा पक्ष हो। सिन्धुलीको खुर्कोट बजार नजिकै बाँध बाँधेर सुनकोशी नदीको पानी मरिन खोलामा पुर्याई प्रदेश २ का बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा सिँचाइ पुर्याउने गरी सरकारले अघि बढाउन लागेको यो आयोजनाको स्रोत व्यवस्थापनका लागि चिनियाँ ऋण खोजिएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यको बुँदा नम्बर १११ मा २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा यो आयोजना अघि बढाउने घोषणा गरेको थियो। यसैअनुसार मन्त्रिपरिषदको अघिल्लो साता बसेको बैठकले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिँदै शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको थियो।
'सुनकोशी-मरिन आयोजना अघि बढाउन सहुलियपूर्ण कर्जा (सफ्ट लोन)का लागि चीनसमक्ष प्रस्ताव गरिएको छ, अर्थ मन्त्रालय स्रोतले भन्यो, 'हामीले चीन सरकार भनेका छौं, एक्जिम बैंकबाट आउँछ वा चीन सरकारका अन्य निकायबाट प्राप्त हुन्छ थाहा छैन।'
चालु आर्थिक वर्षको व्यय अनमानको विवरण (रातो किताब)मा यो आयोजना चीनको एक्जिम बैंकबाट ऋण लिएर बनाउने उल्लेख गरिएको छ। सरकारले यो आयोजनाको सिन्धुलीमा बन्ने तटबन्ध (बाँध)का लागि १ अर्ब ८० करोड रुपैयाँ ऋण लिने गरी चिनियाँ पक्षलाई प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ।
अर्थ मन्त्रालयले सहुलियपूर्ण कर्जा भने पनि एक्जिम बैंकको ऋण भने केही महँगो हुनेछ।
सरकारले गत आर्थिक वर्षको बजेटमा पनि यो आयोजना अघि बढाउने भनेर घोषणा गरेको थियो। तर पर्याप्त तयारी र स्रोतको अभावमा आयोजनाको काम अघि बढेको थिएन। चालु वर्षमा जसरी पनि अघि बढाइने भनिएको यो आयोजनाको नेपाल सरकारतर्फको स्रोतबाट चालु खर्च भए पनि पुँजीगत खर्चतर्फ पनि थोरै रकम खर्च हुने अर्थ मन्त्रालयको दाबी छ।
केही दिनअघि अर्थसचिव डा राजन खनालसहितको उच्च सरकारी अधिकारीको टोलीले यो आयोजनासहित अन्य केही ठूला र राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अवलोकन गरेको थियो।
सुनकोशी-मरिन बहुद्देश्शीय आयोजना अघि बढे हालको बिपी राजमार्गको सिन्धुली खण्डको ७ किलोमिटर क्षेत्र डुबानमा पर्नेछ। सरकारले यो आयोजनाका लागि चालुतर्फको स्रोत आफैँ व्यहोर्ने र पुँजीगततर्फको स्रोत चिनियाँ बैंकसँग ऋण लिएर अघि बढाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।