काठमाडौं- चक्रपथ विस्तार परियोजनाअन्तर्गत दोस्रो चरणको विस्तारमा केही समय लाग्ने भएको छ। सरकारले चिनियाँ कम्पनीलाई साइट क्लियर गरेर दिन समय लागेकाले केही ढिलो हुने देखिएको हो।
कोटेश्वर–कलंकी सडक खण्डको विस्तारपछि कलंकी–धोवी खोला सडक खण्डको विस्तार गर्न लागिएको हो।
कलंकी–धोवी खोला सडक खण्डमा रुख कटानको काम अन्तिम चरणमा पुगेको सडक विभागअन्तर्गतको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जुनजंग कार्कीले बताए। रुख कटानको काम सकिन लागेकाले बिजुलीको पोल सार्न भने केही मसस्या देखिएको उनको भनाइ छ।
‘कलंकीदेखि बालाजुसम्म रुख कटान तथा बिजुलीको पोल सार्ने काममा समस्या छैन। यो करिब सकिन लागेको छ,’ थापाले भने, ‘त्यस्तै बालाजुदेखि धोवी खोलासम्म रुख काट्ने काम अन्तिम चरणमा छ। तर बिजुलीको पोल सार्न भने समय लाग्ने देखिएको छ।’ विद्युत प्राधिकरणले उक्त खण्डमा तार अन्डर ग्राउन्ड गर्ने भनेकाले समय लाग्ने भएको उनले जानरकारी दिए।
चक्रपथ विस्तार आयोजनाले फागुनसम्ममा साइट क्लियर गरी चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिने तयारी गरेको थियो। तर साइट क्लियर गर्न बैशाख/जेठसम्म लाग्ने अनुमान आयोजनाले गरेको छ। साइट क्लियरका लागि १ अर्ब रुपैयाँ खर्च हुने अनुमान आयोजनाको छ।
कोटेश्वर–कलंकी सडक खण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड कलंकी–धोवी खोला विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारी गरेको हो। सुरुमा कलंकीदेखि महाराजगञ्जसम्मलाई दोस्रो खण्डका रुपमा लिइएको थियो। तर पछि महाराजगञ्जबाट चाबहिल धोवी खोलासम्म पुर्याइएको हो।
आयोजनाको साइट क्लियर गरेर सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ। चीन सरकारले आवश्यक तयारीको काम गरेर निर्माण सुरु गर्नेछ। यो सडक विस्तारका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थापाको भनाइ छ।
साइट क्लियर र मुआब्जाको रकम नेपाल सरकारले खर्चने र सडक निर्माणको लागत चीन सरकारले बेहोर्ने सम्झौता भएको उनले बताए। चक्रपथ विस्तारको दोस्रो खण्डमा दुईवटा ‘अन्डरपास’, १० आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुनेछ।
कुल ६२ मिटर चौडाईमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्नेछ। बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ।
बाँकी १२ मिटर चौडाईमा भने नेपाल सरकारले एक/एक लेनको साइकल लेन बनाउने र यससँगै पैदलयात्रु लेन पनि निर्माण गर्ने योजना रहेको छ।
कलंकी–धोवी खोला सडक खण्डको विस्तार सम्झौता भएको साढे २ वर्षभित्रै सक्ने थापाले जानकारी दिए। सन् १९७७ मा चीनकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ। चीनको सरकारी कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो।
कोटेश्वर–कलंकी सडक खण्डको डिजाइनमा समस्या भएको भन्दै विरोध भएको थियो। पुरानो त्रुटी सच्च्याएर डिजाइन गरिएको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।