काठमाडौं- विगतका दिनमा भन्दा केहि फरक देखिएको शेयर बजार बुधबार तीव्र उतार चढाव सहित घटेर बन्द भएको छ। कारोबार खुला भएको केही समय हरियो देखिए पनि छिन छिनमै रातो र हरियो देखियो।
यसो हुनुमा लगानीकर्ताहरु एकै दिन नाफा बुक गर्ने र त्यही पैसा आउने आडमा मूल्य घटाएर शेयर खरिद गर्नेहरु हाबी थिए।
नाफा बुक गर्न खोज्दा बजारमा सप्लाइ बढ्ने अवस्था रहन्छ। बजार अझै सुधार हुन्छ भन्ने लगानीकर्ताहरुको अपेक्षाले उनीहरु शेयरबजारबाट कमाएको पैसा पुनः शेयरमै लगानी गरिरहेका छन्। यसले गर्दा बजारमा केही समयदेखि कारोबार रकम बढिरहेको छ।
बुधबार शेयर बजार ०.२७ अंकले घटेर १३०५.८८ अंकमा रोकिएको छ। सूचकमा उतार चढाव आए पनि कारोबार रकम एक अर्ब २९ करोड रुपैयाँको भएको छ। १ सय ७६ वटा कम्पनीको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नाडेप लघुवित्तको ६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको शेयर ६ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। नेरुडे र नाडेप लघुवित्तको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। सर्किट सँग सँगै कारोबार रकम पनि बढेको हो।
व्यापार, होटल, निर्जीवन बीमा र माइक्रोफाइनान्सको सूचक सुधार देखिए पनि बाँकी सूचक भने घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।