काठमाडौं- विगत तीन महिना अवधिमा १५ प्रतिशतले सुधार भएको शेयर बजारमा वाणिज्य बैंकको सूचकले साथ नदिएसम्म बजारले गति नलिने देखिएको छ। सबैभन्दा तल्लो विन्दुमा रहेको शेयर बजारबाट लगानीकर्ताहरुले उच्च लाभ लिन सकिने भन्दै शेयर खरिद गरिरहेका छन्। तर वाणिज्य बैंकको सूचकमा उच्च सुधार नआएसम्म बजारले गति नलिने बजार विश्लेषक प्रकाश तिवारीले बताए।
बिमा तथा माइक्रोफाइनान्सले उचालेको शेयर बजारमा बाणिज्य बैंकले साथ नदिएसम्म बजार सुधार भएको भन्न नमिल्ने उनको तर्क छ। यसै अवधिमा जीवन बिमा कम्पनीको सूचकमा ४६ प्रतिशतले सुधार आउँदा वाणिज्य बैंकको भने जम्मा ८ प्रतिशतले मात्रै बढेको छ।
दोस्रो बजारमा ८४ प्रतिशतभन्दा धेरै शेयर हिस्सा रहेको बाणिज्य बैंकको सूचकमा सुधार नहुँदासम्म समग्र नेप्से सूचक नबढ्ने विश्लेषण गरिएको छ। वाणिज्य बैंकहरुले हकप्रदसँगै पछिल्लो समय बोनस शेयरलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएका छन्। यसले गर्दा बजारमा सप्लाइ रोकिनेभन्दा पनि झन् बढ्दै गएको छ।
वाणिज्य बैंकको शेयरमा केही देखिने गरि सुधार आउनेबित्तिकै विगतका लगानीकर्ताहरु नाफा बुकतर्फ लाग्ने छन्। अधिकांश लगानीकर्ताहरुको ठूलो लगानी वाणिज्य बैंककै शेयरमा डुबेको हुँदा उनीहरु बाणिज्य बैंकको शेयर सुधारको पखाइमा छन्।
यसले गर्दा वाणिज्य बैंकको सूचकमा सुधार आउन कठिन रहेको विश्लेषकहरु बताउछन्। बजारमा सकारात्मक सुधारको संकेतले गर्दा लगानीकर्ताहरु बिमा तथा माइक्रोफाइनान्सको शेयरमा खेलिरहेका छन्। तीन महिनाको बजारको ट्रेण्ड हेर्दा पनि समग्र नेप्से १५ प्रतिशतले सुधार हुँदा जीवनको ४६ प्रतिशत, निर्जीवनको ३४ प्रतिशत, माइक्रोफाइनान्सको ४८ प्रतिशतले बढेको छ। यसले पनि लगानीकर्ताहरु अल्पकालीन फाइदाका लागि बजारमा खेलिरहेका छन्।
यसले पनि बजारमा बबलमात्रै सिर्जना भएको तिवारीको विश्लेषण छ। यी कम्पनीको मात्र सूचक सुधार हुनुले समग्र शेयर बजार नै सुधार भयो भनेर हौसिने अवस्था नरहेको उनको तर्क छ।
हिजोका दिनमा वाणिज्य बैंकको १०० कित्ता शेयर हुनेसँग आजका दिनमा ३०० सय कित्ता नाघिसकेको छ। यसले गर्दा बजारमा शेयर कारोबार गर्न पुराना लगानीकर्ताको हातमा पर्याप्त शेयर छ। यसले गर्दा पछिल्लो समय आफैंसँग भैरहेकै शेयरलाई खेलाएर कारोबार रकम बढिरहेको छ।
वाणिज्य बैंकको उपसूचक
वाणिज्य बैंकको सूचक तीन महिना अगाडि १०४२ अंक थियो। तीन महिना अवधिमा ८ प्रतिशतले सुधार भएर ११३४ अंक पुगेको छ। सूचक सबैभन्दा धेरै पुगेको दिन वाणिज्य सूचक ११८१ अंकसम्म पुग्यो।
हाइड्रोपावर
शेयर बजारमा उल्लेख्य सुधार हुँदा हाइड्रोपावरको सूचक भने जम्मा ५ प्रतिशतले मात्रै बढेको छ। हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको अझै पनि विश्वास बढ्न सकेको छैन। अधिकांश हाइड्रोपारले लाभांस दिनसक्ने अवस्था छैन। हाइड्रोपावर सेक्टरकै प्रभावले केही राम्रा हाइड्रोपावरको शेयर धेरै नै अण्डरभ्यालु छ।
माइक्रोफाइनान्स
माइक्रोफाइनान्सको शेयर बढ्दा लगानीकर्ताहरु अहिलेसम्म बजारमै टिक्न सकिरहेका छन्। माइक्रोफाइनान्समा आर्जन भएको पैसाले अन्य पोर्टफेलियो खरिद गरेर उनीहरुले केही सप्लाई रोक्न सकेका छन्। तीन महिना अवधिमा मात्रै माइक्रोफाइनान्सको सूचक ४८ प्रतिशतले बढेको छ।
जीवन बिमाको सूचक
जीवन बिमा कम्पनीको सूचक ४६ प्रतिशतले सुधार भएको छ। तीन महिना अवधिमा २३४२ अंकले जीवन बिमाको सूचक बढेको छ। यसै अवधिमा यस्तो क्षेत्रका कम्पनीले राम्रो नाफा आर्जन गरेका छन्।
निर्जीवन बिमा
तीन महिना अवधिमा निर्जीवन बीमाको सूचक १४४८ अंकले सुधार भएको छ। निर्जीवन बिमा कम्पनीका शेयरधनीहरुले राम्रो लाभ उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।