काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन। रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सिइओ नियुक्ति गर्ने निर्णय गरेको हो। मंगलबार नेपाल पर्यटन बोर्डमा बसेको सञ्चालक बोर्ड बैठकले डिसेम्बर २३ गतेदेखि रिक्त बोर्डको सिइओ पदमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।
पर्यटन बोर्डका संचालक समिति सदस्य तथा छनौट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए। 'बोर्डको सिइओमा डा धनञ्जय रेग्मीलाई नियुक्ति गर्ने निर्णय बोर्डले गरेको छ,' उनले भने।
बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो। तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए।
छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम 'सर्ट लिस्ट' गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।
तर, सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले छनोट उपसमितिले नयाँ सिइओ छनोटका लागि सिफारिस गरेका ३ जनाको नाममा ५ जनाको हुनुपर्ने भन्दै ६ गते सोमबार बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए।
बोर्डकै सञ्चालकहरूको कात्तिक १५ मा बसेको २ सय ८९औं बैठकले छनोट उपसमिति गठन गर्ने निर्णय गरेको थियो। छनोट समितिको संयोजक विप्लव पौडेल रहेका थिए भने पर्यटन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्याय र सञ्चालक बोर्डका सदस्य कृष्णबहादुर महरा थिए। समितिले मंसिर १८ गते १५ दिनको सूचना प्रकाशन गर्दै बोर्ड सिइओका लागि आवेदन मागेपछि १७ जनाको आवेदन परेको थियो।
आवेदन परेकाहरूमध्येबाट छनोट उपसमितिले पुस १९ मा पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशी, भिजिट नेपाल २०२० सचिवालयका सदस्य-सचिव, बोर्डकै निर्देशक काशीराज भण्डारीसहित ९ जनाको नाम सर्ट लिस्ट गरेको थियो। सर्ट लिस्टमा ३ जनाबाहेक दीपक बस्ताकोटी, धनञ्जय रेग्मी, नवीन पोखरेल, रोहणीप्रसाद खनाल, सन्तोषविक्रम खनाल र हिकमत सिंह ऐर थिए।
सर्ट लिस्टमा परेका ९ जनासँग छनोट उपसमितिले २ र ३ गते योजनासहितको अन्तर्वार्ता लिएको थियो। सोही आधारमा छनोट उपसमितिले माघ ५ मा पर्यटन बोर्डमै बैठक बसेर धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो।
सिफारिससँगै उपसमितिले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ अनुसार कार्यकारी प्रमुख पदमा ४ वर्षका लागि नियुक्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउन नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्षमार्फत् बोर्डको कार्यकारी समितिसमक्ष पेस गर्ने निर्णय गरेको थियो।
रेग्मीमाथि चुनौती
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। तर, यो लक्ष्य सहजै पूरा हुने अवस्था छैन। किनकि, सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १२ लाखको हाराहारीमा मात्रै रहेको छ। सरकारी लक्ष्य पूरा गर्न अहिलेको पर्यटन आगमनको संख्या ६७ प्रतिशत वृद्धि गराउनु पर्नेछ।
यसैगरी, नेपाल भ्रमणमा आउने पर्यटकको संख्यासँगै पर्यटकको बसाइ र खर्च पनि बढाउनुपर्ने चुनौती उनीसामु छ। सन् २०१८ मा नै प्रतिपर्यटक दैनिक खर्च सन् २०१७ को तुलनामा १० डलरले घटेर ४४ मा झरेको थियो। यसका साथै पर्यटकको बसाइ अवधि पनि घटिरहेको छ। रेग्मीले पर्यटकको संख्यासँगै गुणस्तरीय पर्यटनमा पनि ध्यानु दिनुपर्ने आवश्यकता छ।
विस्तारै परिर्वतनको चरणमा रहेको डिजिटल मोर्केटिङलाई पनि विस्तार गर्नु पर्ने रेग्मीमाथि चुनौती छ। साथै भिजिट नेपाल २०२० को सुरुवातसँगै नेपालबारे फैलिएका नकारात्मक विषयको चिरफार गर्दै नेपाल सुरक्षित रहेको सन्देश दिनुपर्ने चुनौती पनि रेग्मीमाथि नै छ। भिजिट नेपाल २०२० को सुरुमै अन्नपूर्ण हिमपहिरो र कारोना भाइरसजस्ता समस्या जेल्दै पर्यटन विकासमा समय खर्चनुपर्ने छ।
को हुन् रेग्मी?
धनञ्जय रेग्मी हिमालय रिसर्च एक्पिडिसन प्राइभेट लिमिटेडको अध्यक्षका रूपमा काम गरिरहेका व्यक्ति हुन्। भूगर्भ तथा हिमनदीका विषयमा उनको विज्ञता छ।
जापानको होक्काइदो विश्वविद्यालयबाट सन् २००६ मा इन्भाइरोमेन्टल अर्थ साइन्समा विद्यावारिधि गरेका थिए। विद्यावारिधि गर्नुअघि उनले बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालयमा भूगोलशास्त्रको अध्यापन पनि गरेका थिए। त्यस्तै उनले हिमालयन रिसर्च सेन्टर, काठमाडौंमा अनुसन्धानकर्ताका रूपमा पनि लामो समयसम्म काम गरेका छन्।
विद्यावारिधि उपाधि लिएपछि उनले जापानको ग्लोबल ल्यान्ड प्रोजेक्ट (एनओडिएयल)मा पनि अनुसन्धानकर्ता थिए। त्यस्तै संयुक्त राज्य अमेरिकाको अरिजोना विश्वविद्यालयबाट डेन्ड्रोक्रोनोलोजी विषयमा तीनमहिने पोस्ट डक्ट्राइन कोर्स गरेका थिए।
हाल उनी त्रिभुवन विश्वविद्यालय भूगोल तथा वातावरणविज्ञान केन्द्रीय विभागमा सहायक प्रोफेसरका रूपमा समेत काम गरिरहेका छन्। डा रेग्मी नेपाल भौगर्भिक समाजको उपाध्यक्षसमेत हुन्। उनी सन् २००७ देखि जलवायु परिवर्तन र पारिस्थितिक प्रणालीबारे निरन्तर अध्ययनमा छन्। अन्तराष्ट्रिय संस्था सोसाइटी अफ इकोलोजिकल रेस्ट्रोरेसन (एसइआर) नेपाल च्याप्टर प्रमुखका रूपमा पनि काम गरिसकेका छन्। उनले हिमनदी तथा हिमतालसम्बन्धी प्राविधिक सल्लाहकारका रूपमा ‘इम्जा लेक लोअरिङ प्रोजेक्ट’मा पनि काम गरिसकेका छन्।
के भन्छन् रेग्मी?
पर्यटन बोर्डको सिइओ नियुक्ति लगत्तै नेपाल लाइभसँगको छोटो टेलिफोन वार्तामा रेग्मीले ४ वर्षे कार्यकाय कुनै व्यक्ति र संस्थाको हितभन्दा बाहिर रही समग्र पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
‘नेपालले बढीभन्दा बढी डलर आम्दानी गर्ने क्षेत्र पर्यटन हो,’ उनले भने ,‘यसबाट नै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान बोर्ड सहयोगी बन्नेछ।’
पर्यटन क्षेत्रको विकास आफूले ९ वटा काम गर्ने योजना बुझाएको र सोहीअनुसार काम गर्ने उनको भनाइ छ। सबैभन्दा प्राथमिकताको क्षेत्र भने नयाँ गन्तव्यको विकास गर्दै नेपाललाई विश्वसामु परिचत गराउनु हो। सोही अनुसार आधुनिक र नवीनतम प्रविधिको सहयोगमा अनुसन्धान गरी नयाँ गन्तव्य र प्रोडक्ट खोजी गर्छु,’ उनले भने।
यसबाहेक कर्मचारीको क्षमता वृद्धि, आर्थिक पारदर्शिता र डिजिटल मार्केटिङमा पनि ध्यान दिँदै पर्यटन विकासमा समय खर्चने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।