काठमाडाैं- विश्वकै अग्लो स्थानको फेशन शो नेपालमा भएको छ। सगरमाथा क्षेत्र कालापत्थरमा माउन्ट एभरेष्ट फेशन रनवे नाम दिएर फेशन शो भएको हो । यो नै विश्वकै अग्लो स्थानमा भएको पहिलो फेशन शो हो।

यो फेशन शो गिनिज बुकमा पनि दर्ता भएको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा कासा स्टाइल आरबी डायमन्ड्सद्वारा आयोजित फेशन शो जनवरी २६ का दिन भएको हो। कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को अभियानका रुपमा हेरिएको छ ।
फेशन शोमा नेपाल, फिनल्याण्ड, इटाली श्रीलंका र सिंगापुरलगायत विश्वका विभिन्न मुलुकका मोडेलहरू सहभागी थिए। उच्च उचाइमा फेशन शो आयोजना गर्नुको मुख्य उद्देश्य जलवायु परिवर्तनका बारेमा चेतना जगाउनु रहेको जनाइएको छ।
यसैगरी विश्वमा नेपाल सबै क्रियाकलापहरूको लागि गन्तव्य हो भनेर चिनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ।
फेशन शोमा प्राकृतिक तथा जैविक र कासाका नेपाली उत्पादन राखिएका थिए। यस्तै नेपाली पश्मिना, फेल्ट र याकका ऊनबाट बनाइएका वस्त्र पनि थिए। कार्यक्रममा आरबी डायमन्डले डिजाइन गरेका गहना प्रदर्शन पनि गरिएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका नन्दिनी लाहे थापा, आरबी डायमन्डका अध्यक्ष रमेश महर्जनलगायत सहभागी थिए।

४८ जनाकाे टोलीले १८ जनवरी २०२० मा लुक्लाबाट कालापत्थरतर्फकाे यात्रा सुरू गरेको थियो। गिनिज वर्ल्ड रेकर्ड बाहेक सगरमाथा बेस क्याम्प मार्गमा मोडेलहरूको यात्रा रियालिटी शोको रूपमा गरिएको छ, जुन अप्रिल र मे २०२० मा एमटीभी अमेरिका र क्यानडामा प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।