काठमाडौं- नेपाल बैंक लिमिटेडको खुद ब्याज आम्दानीमा भारी गिरावट आउँदा नाफा १८.६० प्रतिशतले घटेको छ।
बैंकले चालु आर्थिक वर्षमा एक अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा एक अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो।
आफूसँग भएको निक्षेपलाई उचित परिचालन गर्न नसक्दा खुद ब्याज आम्दानीमा गिरावट आएको हो। पुस मसान्तसम्ममा बैंकले दुई अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। जवकी गत वर्षको सोहि अवधिमा तीन अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो।
गत वर्षको तुलनामा बैंकको निक्षेप संकलन १०.८३ प्रतिशतले सुधार हुँदा कर्जा लगानी भने १४.७६ प्रतिशतले सुधार भएको छ। तर, लगानी भएको कर्जाको ब्याज उठाउन नसक्दा नाफामा धक्का पुगेको हो।
छ महिनाको अवधिमा बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोहि अवधिमा एक खर्ब ५ अर्ब रुपैयाँ कर्जा निक्षेप संकलन गरी ८५ अर्ब ७९ करोड रुपैयाँ कर्जा विस्तार गरेको थियो।
निक्षेपको विस्तारअनुसार कर्जामा खासै सुधार नहुँदा पूँजीकोष अनुपात १.४३ प्रतिशत विन्दुले बढेर १७.४१ प्रतिशत छ। खराव कर्जामा थोरै सुधार भएर २.६६ प्रतिशत छ। बैंकको नाफामा स्प्रेडदरले पनि असर पारेको छ। स्प्रेडदर ०.५५ प्रतिशत विन्दुले झारेर नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ४.४४ प्रतिशत कायम गरेको छ।
नाफामा आएको गिरावटले प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेर २७ रुपैयाँ छ। त्यस्तै कस्ट अफ फण्ड पनि ह्वात्तै बढेको छ। यो ३.५८ प्रतिशतबाट ५.१९ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।