पेट्रोलियम र प्राकृतिक ग्यासका विषयमा नेपाल-भारतबीच तीन महत्त्वपूर्ण बैठक

नेपाल लाइभ | २०७६ माघ १४ मंगलबार | Tuesday, January 28, 2020 ११:२२:०० मा प्रकाशित

काठमाडौं- नेपाल र भारतबीच अन्तरदेशीय पेट्रोलियम तथा प्राकृतिक ग्यास पाइपलाइन निर्माणका लागि पछिल्लो एक महिनामा ३ वटा महत्त्वपूर्ण बैठक सम्पन्न भएका छन्।

बैठक पेट्रोलियम र ग्यासको क्षेत्रमा दुई देशबीच आपसी सहकार्य बढाउने उद्देश्यसहित दुईवटा सचिवस्तरीय र एउटा सहसचिवस्तरीय बैठक सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गत डिसेम्बरमा भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत वाणिज्य तथा आपूर्ति सचिवस्तरिय बैठक सम्पन्न भएको थियो। सो बैठकमा भएको सहमतिअनुसार नेपाल–भारत जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठक जनवरी १२ र १३ मा नयाँ दिल्लीमै सम्पन्न भैसकेको छ।

त्यसैगरी गत शुक्रबार पनि वाणिज्य तथा आपूर्ति सचिवस्तरिय बैठक काठमाडौंमा सम्पन्न भएको छ।

बितेको एक महिनामा नेपाल–भारतबीच पेट्रोलियम र ग्यास क्षेत्रमा सहकार्य बढाउने उद्देश्यका साथ ३ वटा महत्त्वपूर्ण बैठक बसेको र यसबाट दुई देशबीच यी क्षेत्रमा सम्पन्न समझदारीहरुको कार्यान्वयनको लागि मार्ग प्रसस्त भएको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए। सहसचिव घिमिरेका अनुसार गत शुक्रबार सम्पन्न सचिवस्तरिय बैठकमा पेट्रोलियम र ग्यासको क्षेत्रमा दुई देशबीच आपसी सहकार्य बढाउने र नेपाल-भारतबीच सम्पन्न प्रथम जोइन्ट वर्किङ ग्रुपमा सहमति जनाइएका विषयहरुलाई कार्यान्वयन गर्नको लागि ठोस रुपमा अघि बढ्ने लगायतका विषयमा केन्द्रित रहेको थियो।

उक्त बैठकबाट अमलेखगंज–लोथर पाइपलाइन विस्तार तथा सिलगुडी–झापा पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययनको लागि समयसीमा तोकी कार्यअघि बढाउने र यसको लागि संयुक्त अध्ययन टोली तत्काल गठन गर्ने सहमति भएकाे थियाे।

त्यस्तै, पट्रोलियम पदार्थको भण्डारण क्षमता बिस्तार गर्न आवश्यक पूर्वाधारको निर्माण प्रक्रिया अघि बढाउने, पट्रोलियम तालिम केन्द्र निर्माणको लागि उपयुक्त स्थान पहिचान गरी काम अघि बढाउने लगायतका विषयमा दुई पक्षबीच छलफल भएको जनाइएको छ।