काठमाडौं- विभिन्न ९ बुँदे माग राख्दै नेपाल यातायात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिले गत शनिबारदेखि हवाई इन्धनको ढुवानी ठप्प पारेपछि नेपाल आयल निगमले ढुवानी अवस्थाबारे बुझ्न तीन सदस्यीय समिति रक्सौल पठाएको छ।
रक्सौल डिपोबाट ढुवानी गर्ने जिम्मेवारी पाएका ट्यांकर इन्धन लोड गर्न गए–नगएको बारे अध्ययन गर्न निगमका उप निर्देशक सुरेन्द्र महतो, प्रबन्धकहरु रामप्रसाद पाठक र अभिषेक ठाकुरलाई त्यहाँ पठाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
गोइतका अनुसार उक्त अध्ययन टोलीले ‘इन्धन ढुवानीका लागि जुन ट्यांकरको पालो हो, त्यो आए–नआएको बारे जानकारी लिन तीन जना कर्मचारी सोमबार बेलुका रक्सौल पठाएको हो। उक्त टोलीले ट्यांकरको विवरण तयार पारेर ती ट्यांकर इन्धन लिन गए नगएको बारे अनुसन्धान गर्नेछ।
पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार निगमले ढुवानीकर्ताबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा ५० लिटरसम्म नोक्सानी भएमा ढुवानीकर्ताले इन्धनको वास्तविक मुल्य र ५० लिटरभन्दा माथिको नोक्सानी भएमा वास्तविक मुल्यको दोब्बरसम्म तिराउने गरेको छ।
यसरी इन्धन नोक्सानी हुँदा निगमले ढुवानीकर्तासँग त्यसको क्षतिपूर्ति लिन्छ भने ढुवानीकर्ताले पनि त्यो रकम चालकमाफर्त असुली गर्ने गरेका छन्।
निगमका अनुसार अहिले १ सय ८१ वटा ट्यांकरमार्फत हवाई इन्धन ढुवानी भइरहेको छ। निगमका प्रवक्ता गोइतका अनुसार निगमले हवाई इन्धन बोक्ने ट्यांकरमा छड्के जाँच गर्दा १ महिना अवधिमा १२ वटा ट्यांकरमा ७० देखि ९० लिटरसम्म तेल कम रहेको देखिएको थियो।
निगमले त्यसरी तेल कम देखिएका ट्यांकरहरुलाई वास्तविक नोक्सान हो कि होइन भनेर अध्ययन गर्ने जनाएको छ।
ट्यांकर चालकहरुले ढुवानीका क्रममा इन्धन चोर्ने समस्या समाधानका लागि भन्दै निगमले लकिङ प्रणालीसमेत कार्यान्वयनमा ल्याएको छ। तर पनि निगमले तोकेको मापदण्डभन्दा बढी नोक्सानी देखिने गरेको छ।
इन्धन ढुवानी गर्दै आएका चालकहरुले ९ बुँदे माग राख्दै भारतबाट आयात गरिने तथा मुलुकभित्रकै ढुवानीलाई ठप्प पारेका छन्। उनीहरुले ट्यांकरको चाबीसमेत पेट्रोलियम ढुवानी व्यवसायीलाई बुझाएका छन्।
तर ९ बुँदे मागमा राखिएको भन्दा बाहिरको विषय इन्धन ढुवानीमा हुने नोक्सानीको विषयकै कारण चालकहरुले ढुवानी बन्द गरेको गोइतको भनाइ छ।
नेपालमा प्रतिदिन ५ सय किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ भने अहिले ५ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको छ। कानुनअनुसार अत्यावश्यक वस्तुमा बन्द हड्ताल गर्न नपाइने व्यवस्था रहेका कारण ट्यांकर चालकहरुलाई कारबाहीको तयारी पनि थालिएको गोइतको भनाइ छ।
अहिले रक्सौल, सिलुगुडी र इलाहावाद डिपोबाट हुने हवाइ इन्धन ढुवानी ठप्प अवस्थामा रहेको छ। यस विषयलाई मन्त्रालयले पनि गम्भीर रुपमा लिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए।
‘हामीले यो विषयलाई गम्भीर रुपमा लिएका छौं। केहि छलफल र निर्देशन पनि भएका छन्। केहि दिनभित्रै समस्या समाधान हुन्छ,’ सहसचिव घिमिरेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।