काठमाडौं– चितवनस्थित भरतपुर विमानस्थल बिस्तारबारे सर्वपक्षीय छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर विमानस्थल बिस्तारको सम्भावना र चुनौतीका विषयमा सर्वपक्षीय छलफल भएको हो।
कार्यक्रममा सहभागीले भरतपुर विमानस्थल बिस्तार अपरिहार्य भएको बताए। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारी सहभागी थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको चितवनको विमानस्थल बिस्तार र स्तरोन्नति अनिवार्य भएको बताए। उनले सबै मन्त्रालय र निकायको समन्वयमा यसका लागि काम अघि बढिरहेको भन्दै खुसी व्यक्त गरे। चितवनको तीव्र सहरीकरण भएको भन्दै उनले सुरक्षित र व्यवस्थित विमानस्थल अनिवार्य भएको बताए।
रक्षा तथा उप्रधानमन्त्री पोखरेलले भरतपुर विमानस्थल बिस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताए। भरतपुर विमानस्थल बिस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर विमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए ।
भरतपुर महानगरपालिकाकी मेयर दाहालले भरतपुर बिमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बागमती प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास गरिनुपर्ने आवश्यकता रहेको बताइन्। उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा बिकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्याधिक बढिरहेको बताइन्।
छलफल कार्यक्रममा भरतपुर विमानस्थल बिस्तार तथा स्तरोन्नतिको आवश्यकता, प्राविधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।