काठमाडौं- सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संशोधन गर्ने तयारी भएको छ। ऐन आए पनि कार्यान्वयनमा नआउँदै संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको हो।
ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ।
ऐन संशोधनका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत छलफल सुरु भएको छ। सहकारी ऐन अनुसार सहकारी सञ्चालन गर्न समस्या हुने भन्दै सहकारीकर्मीहरुले ऐन संशोधनका लागि लबिङ गर्दै आएका छन्।
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजना ‘सहकारी ऐन २०७४ : संशोधन किन?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ऐनअनुसार सहकारी सञ्चालन गर्न समस्या भएको बताए। अहिलेको ऐनले गैरकानुनी ढंगले सञ्चालन गर्न बाध्य भएको उनीहरुको भनाइ छ।
कार्यक्रममा बोल्दै सांसद एवम् कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिअन्तर्गतको सहकारी उपसमिति संयोजक घनश्याम खतिवडाले सरकार र सहकारी अभियानको आवश्यकताअनुसार ऐन संशोधन हुन सक्ने बताए। खतिवडाले सहकारीले ठगी गरेको, नाफामा मात्रै केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्ने गरेको र सन्दर्भ व्याजदर कार्यान्वयनमा ध्यान नदिएको बताए।
सहकारी कमजोर खम्बाका रुपमा रहेको भन्दै सहकारीलाई निर्यात प्रतिस्थापन र आयात प्रवर्द्धन गर्ने गरी ऐन संशोधन हुनुपर्ने उनको भनाई छ। त्यस्तै सहकारीमा सुशासन हराएको भन्दै सहकारी कानुन अनुसार सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। ऐन अपरिवर्तनीय नभएको र सहकारी सञ्चालनका बाधा फुकाउन ऐन संशोधन गर्न समितिमा छलफल चलाइएको खतिवडाको भनाइ छ।
विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी ऐन २०७४ कार्यान्वयनमा नआई संशोधन सुरु हुनु उचित नभएको बताए। ‘हाम्रो जोड ऐन कार्यान्वयनमै हुन्छ। संशोधन भनेको त आवश्यकता महसुस हुँदा गरिने कुरा हो। पहिलो शर्त कार्यान्वयन नै हो,’ उनले भने।
सहकारी अभियानले नाजायज माग उठाएर ऐन संशोधनको बखेडा झिक्ने गरेको र संशोधन पश्चात् पनि फेरि संशोधनको मुद्दा उठाउन नछोड्ने गरेको रजिस्ट्रार पाण्डेको बुझाइ छ। ‘सहकारी सजिलो कारोबारमा आकर्षित भएका छन्,’उनले भने, ‘अब सहकारी बचतभन्दा फरक व्यवसायमा आकर्षित हुनुपर्छ।’ रजिष्ट्रार पाण्डेले कानुन कार्यान्वयन गर्ने दायित्व विभागको भएकाले कार्यान्वयनमा प्रतिबद्ध भएको बताए।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी ऐन संशोधन नगरी अहिलकै अवस्थामा कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताए।
एक व्यक्ति एक पद, कोषमा ६५ प्रतिशतको व्यवस्था, कानुनी व्यक्ति सदस्य बन्न नपाउने व्यवस्था, सहकारीको विनियमावली साधारणसभाले बनाउने लगायतका विषय संशोधन गर्न आवश्यक भएको उनले बताए। कृषि, बहुउद्देश्यीय सहकारी नाम राखेर बचत मात्रै गर्न नपाइने भन्दै उनले मुख्य कारोबारको व्यवस्था हटाउनुपर्ने बताए।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले जारी गरेको सिद्धान्त बचत तथा ऋण सहकारीले अक्षरशः पालना गर्नुपर्ने बताए। वित्तीय सुशासन नहुँदा दुर्घटना हुने भन्दै सहकारी अनुशासनमा बस्नुपर्ने उनको भनाइ छ । ‘मुख्य कारोबारको व्यवस्था हटाउनु हुँदैन,’ उनले भने, ‘संशोधन गर्दा दुरगामी असर पर्छ।’
कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारी ऐन बनाउँदा धेरै कमजोर छोडेर अघि बढेको भन्दै अहिले संशोधन अपरिहार्य भएको बताए। ‘बचत तथा ऋणको कारोबार कृषि सहकारीले पनि गर्न पाउनुपर्छ,' उनले भने,‘बचतमा बन्देज लगाउने विषय हामीलाई मान्य छैन,’ उनले भने।
त्यस्तै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ऐन संशोधन स्वभाविक भएको बताए। सहकारीले पुँजी संकलन गर्न पाएपनि नियमबाहिर जान नसक्ने उनको धारणा थियो।
राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले उत्पादन र सेवामा जान ऐन बाधक भएकाले तत्काल संशोधन गर्नुपर्ने धारणा राखिन्। व्यक्तिगत बचतको सीमाले पैसा बैंकमा जाने खतरा रहेको उनको भनाइ थियो।
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले मुख्य कारोबारको प्रावधान जटिल विषय भएको भन्दै संशोधन गर्नुपर्ने बताए। ‘अहिलेको ऐनले गैरकानुनी काम गर्न बाध्य बनाएको छ,’उनले भने, ‘गैरकानुनी काम गर्न पाउने भए संशोधन नगरे पनि हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।