काठमाडौं- आस्कमी म्यानेजमेन्टले माघ १५ र १६ गते अनलाइन जब फेयर सञ्चालन गर्ने भएको छ। उक्त फेयर मोबाइलबाटै अनलाइन भिजिट गर्न सकिनेछ।
संस्थाले नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको हो। मोबाइल तथा कम्प्युटरबाटै जागिरको खोजी गर्न सकिने गरी उक्त फेयर सञ्चालन गर्न लागिएको आस्कमीले जनाएको छ।
२ दिने भर्चुअल मेलामा सर्वसाधारणले व्यापारिक क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा विविध क्षेत्रका रोजगारदाता कम्पनीबारे अनलाइनबाटै जानकारी पाउन सक्ने छन्।
घरमै बसीबसी ल्यापटप तथा कम्प्युटरबाटै भिजिट गर्न सकिने मेला नेपालमै पहिलो पटक हुन लागेको आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन्।
इच्छुक व्यक्तिले आस्कमीको वेवसाइट लगइन गरेर फेयरमा सहभागिता जनाउन सक्नेछन्। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा आयोजना हुने जब फेयरमा गोल्डेन गेट कलेजको पनि उपस्थिति हुनेछ। माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलालबल लाइफ इन्स्योरेन्स, इसेवा, फोन पेलगायतको उपस्थिति रहने आस्कमीले जनाएको छ।
अनलाइन स्टलमा गएर रोजगार खोजिरहेका व्यक्तिले आवेदन दिन सक्ने छन्। आवेदनपछि सम्बन्धित कम्पनी आफैंले बोलाएर अन्तर्वाता लिनेछन्। मेलाले रोजगार खोजिरहेका र कर्मचारी चाहिएका कम्पनीबीच पुलको काम गर्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।