जोश यसरी आउदो रहेछ
जसरी,थाहा नै नदिई भुइचालो आउँछ
तर‚ म भुइचालो जस्तो होइन
दुनियाँको घरबार पिउने
मलाई बस्,मधुशाला हाहाकार पार्नुछ।
हो,
आज म पिउँछु,बोतलमा भरिएको सूर्य
अनि पगाल्छु, मभित्रको पीडाको हिमाल!
मलाई बटुल्नु छ साहस
निकाल्नु छ ज्वालामूखी
हान्नु छ तोप गोला
गर्ज्यमान् भएर कराउनु छ
सुकुम्बासी बस्तीमा
ठेला उठेको हातमा बोतल लिएर!
ए त्रिभुवन! त्रिभुवन
हेर म जड्याँहा कवि तिर
र जवाफ देउ मलाई
तिमीले किन बनायौ
फलामको चरी बस्न मैदान?
हेर त! त्रिभुवन...!
हेर त! त्रिभुवन!!
आँसु र पसिनाको धागोले
मानवता फाँटेको अरबका भूमिहरू सिउन
दिनमा हजारौं युवाहरू
बादलसँग लुकामारी खेल्दै
सिमाना पार गरेका
कि! देख्दैनौं त्रिभुवन?
एकै दिनमा चारवटा रातो बाकस झरेको
म जड्याहा हुँ
म घाइते बाघ
तर म आज
अभावको रंगशालामा पछारिदाँ
किन खिजाउछौं भीमसेन
ए ! भीमसेन! भीमसेन !!
म तिमीले बनाएको धरहरा होइन
म त जरूक्कै उठ्न सक्छु
बरू मलाई एक अजौँली थुक पैंचो देऊ
म सिंहदरबारको भान्सामा मिसाइदिनेछु।
मैले अब सुनाउनुछ
महङ्गीको पहाडले थिच्दा
इन्द्रावतीमा डुबेका युगको कहानी
बलात्कारको सिकारमा परेको फूलको कहानी
अझ देखाउनु छ
सिंहदरबारभित्र छोपिएको सरकार तिम्रो गणतन्त्र
तर यतिकैमा माननीयहरूले
मेरो शरीरमा धावा बोले भने
थानेदारहरूले मेरो सासमा नाकाबन्दी गरे भने
म खुत्रुक्क ढल्नेछु
यो सुन्दर भूमिमा
र पनि अझै सोध्नेछु
ए नेपाल आमा!
मलाई जवाफ देउ
कहाँ छ गणतन्त्र?
कहाँ छ लोकतन्त्र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।