काठमाडौं– नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका ४ वटै चिनियाँ वाई–१२ जहाज ग्राउन्डेड भएका छन्।
डिसेम्बर २५ देखि ४ वटै चिनियाँ वाई-१२ जहाज ग्राउन्डेड भएका हन्। निगम प्रवक्त गणेशबहादुर चन्दले सबै चिनियाँ वाई-१२ जहाज ग्राउन्डेड भएको जानकारी दिए। ‘डिसेम्बर २५ सम्म ४ वटा चिनियाँ वाई-१२ जहाजमध्ये एउटा उडानमा थियो,’ उनले भने, ‘एक महिनादेखि ४ वटै चिनियाँ जहाज ग्राउन्डेड भएका छन्।’
चिनियाँ जहाज उडानको समयमा कन्ट्रोलमा समस्या आएको उनको भनाइ छ। जहाजमा समस्या आएपछि चिनियाँ प्राविधकिलाई समेत खबर भइसकेको चन्दले जानकारी दिए। चिनियाँ प्राविधिक आएर जहाज हेरेपछि मात्रै जहाज उडान गर्न मिल्ने वा नमिल्ने थाहा हुने उनको भनाइ छ।
४ वटा चिनियाँ जहाज रहे पनि निगमले पछिल्लो ६ महिनादेखि एउटामात्रै उडान गरिरहेको थियो। पछिल्लो ६ महिना उडानमा रहेको नाइन एन एकेभीले दैनिक दुईवटा अर्थात् ४ ल्यान्डिङ मात्रै गरिरहेको थियो। उक्त उडान पनि अहिले बन्द रहेको उनको भनाइ छ।
लामो समयदेखि एउटा वाई–१२ जहाले काठमाडौं–दाङ–काठमाडौंमा मात्र उडान गरिरहेका थियो। अन्य गन्तव्यमा भने चिनियाँ जहाजले उडान गर्न सकेका थिएनन्। तर, ४ वटा चिनियाँ जहाज फुलफेजमा सञ्चालन गर्ने हो भने दैनिक २० उडान तथा ४० वटा ल्यान्डिङ गर्न सकिन्छ। ४ वटै जहाज फुलफेजमा उडान गर्न १० जना पाइलट आवश्यक भए पनि अहिले निगमसँग चिनियाँ जहाज उडानका लागि ३ जनामात्रै पाइलट रहेका छन्।
आइपी पाइटट फिजियोनाथ नेपाली, सञ्जय वादे र केबी लिम्बु छन्। त्यसमा पनि २०१९ को सुरुदेखि नै पाइलट वादेले जहाज उडान गर्न सकेका छैनन्। एउटा जहाज पूर्णक्षमतामा उड्ने हो भने पनि दैनिक पाँच उडान तथा १० वटा ल्यान्डिङ गर्न सक्छ। तर, जहाज उडान भएका छैनन्।
राजीनामा दिइसकेका निगम कार्यकारी अध्यक्ष मदन खरेलले पनि चिनियाँ जहाज उडानमा समस्या आएको बताउँदै आएका थिए। खरेलले गत वर्ष असोज १ गते कार्यकारी पदको जिम्मेवारीमा आएलगत्तै १० भन्दा बढी गन्तव्यमा चिनियाँ जहाजको परीक्षण उडान गरेका थिए। तर, उनले १५ महिना जिम्मेवारीमा रहँदा पनि चिनियाँ जहाजलाई प्रभावकारी रुपमा उडान गर्न सकेका थिएनन्।
चिनियाँ जहाजकै कारण गत आर्थिक वर्षमा निगमलाई ५० करोडभन्दा बढी घाटा भएको छ। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जिम्मेवारी लिए लगत्तै ताप्लेजुङमा परीक्षण उडान गरेका खरेलले कार्यकाल भरी नियमित उडान गर्न सकेका थिएनन्। खरेलकै पालामा सबै जहाज ग्राउन्डेड भएका हुन्।
पछिल्लो समय निगमका अकारीले चिनियाँ जहाजको मर्मतमा आवश्यक पार्टपुर्जा अभावका कारण उडान हुन नसकेको स्वीकार गर्न थालेको छन्। खरेलले नै पहिलो पटक निगमको महाप्रबन्धक हुँदा चिनियाँ सरकारको अनुदान र सफ्ट लोनमा जहाज खरिद गर्ने निर्णय गर्दै जहाज खरिद गरेका थिए।
महालेखा परीक्षकको कार्यालयले चिनियाँ जहाज उडानमा उठायो प्रश्न चीनमा निर्माण भएको एमए–६० विमान र वाई–१२ ई विमान हाल आन्तरिक उडानमा रहेका छन्। एमए–६० अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २० करोड ६४ लाख सञ्चालन आम्दानी भएकोमा विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः ३१ करोड ३ लाख र २१ करोड २५ लाख घटाउँदा ३१ करोड ६४ लाख रुपैयाँ खुद घाटा रहेको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी वाई–१२ विमानबाट पनि सोही आवमा यस वर्ष २ करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा प्रतिवेदनमा उल्लेख छ। तर, विमानसँग सम्बन्धित सञ्चालन र अप्रत्यक्ष खर्च क्रमशः १८ करोड ८५ लाख र ९ करोड ६३ लाख रुपैयाँ रहेको छ।
आम्दानीबाट यी दुई शीर्षकको खर्च निगमलाई चिनियाँ वाई-१२ जहाजबाट २८ करोड ९७ लाख खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ। चिनियाँ विमान सञ्चालनबाट निगमलाई घाटा भएको हुँदा नाफामा सञ्चालन गर्नको लागि ठोस कार्ययोजना बनाई लागू गर्न महालेखाले ५६औं प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो।
अहिले निगमले आन्तरिक उडानमा एउटा एमए ६० र २ ट्विनटर जहाजले मात्रै उडान गर्दै आएको भने ६ वटा आन्तरिक उडानमा प्रयोग भएका जहाज ग्राउन्डेड छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।