काठमाडौं- नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने विप्रेषण आप्रवाहमा खाडी मुलुक पसेका नेपालीको योगदान ५० प्रतिशत छ। जवकी वैदेशिक रोजगारका लागि विदेशिने नेपाली मध्ये ७५ प्रतिशत खाडी मुलुकमै छन्।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढेर २५.४ प्रतिशत पुगेको छ। १० वर्ष अगाडि यस्तो योगदान २१.२ प्रतिशत थियो।
विप्रेषण आप्रवाहका कारण वित्तीय साधन परिचालनको दायरा थप विस्तार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। रेमिट्यान्सकै कारणले बैंकको निक्षेप विस्तार हुँदै गएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
२० वर्ष अगाडि नेपालको कुल ग्राह्रस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा जम्मा १०.७ प्रतिशत मात्रै थियो। यसै अवधिमा विदेशिनेको संख्या बढ्दै जाँदा यसको योगदान १५ प्रतिशतले बढेर २५.५ प्रतिशत पुगेको हो। नेपालको गरिबी न्यूनिकरणमा विप्रेषणको ठूलो भूमिका रहेको छ।
आर्थिक वर्ष २०६०/६१ मा गरिबीको रेखामुनी ३०.९ प्रतिशत जनसंख्या थियो। अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा गरिबीको संख्या घटेर १८.७ प्रतिशतमा झरेको छ। यसको प्रमुख कारण विप्रेषण आप्रवाह गरेको राष्ट्र बैंकले जारी गरेको एक प्रतिवेदनमा उल्लेख छ।
सबैभन्दा धेरै खाडी मुलुकमा निर्भर रहेको वैदेशिक रोजगार पछिल्ला दिनमा घट्दै गएको छ। त्यसमा पनि खाडी मुलुकमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव नेपालको विप्रेषण आप्रवाहमा पनि देखिन सक्ने राष्ट्र बैंकले आकलन गरेको छ। त्यस्तै छिमेकी मुलुक भारतको आर्थिक बृद्धिदरमा कमि आए सँगै यसको प्रभाव नेपालको बिप्रेषणमा पर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यस्तो आकलन गरे पनि पछि ५ आर्थिक वर्षमा भारतबाट आउने विप्रेषणमा बृद्धि हुँदै आएको छ। आप्रवाहमा भएको बृद्धिसँगै भारतको हिस्स पनि बढिरहेको छ। ५ वर्ष अगाडि नेपालको कुल विप्रेषण आप्रवाहमा भारतको हिस्सा १२.३२ प्रतिशत थियो। गत आर्थिक वर्षको तथ्याङ्का आधारमा भारतको हिस्सा १४.६२ प्रतिशत छ।
.JPG)
चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्कका आधारमा सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट आएको छ। कतारबाट चार महिनाको अवधिमा ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यसको हिस्सा १७.७ प्रतिशत छ। त्यस्तै दोस्रो नम्बरमा रहेको भारतबाट ४३ अर्ब १५ रुपैयाँ भित्रिएको छ। अमेरिकाबाट भने २५ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ।
यस अवधिमा नेपालमा तीन खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। १० वर्षको अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा बैदेशिक रोजगारमा जानेको संख्या ५ लाख २७ हजार जना थिए। गत आर्थिक वर्षमा जानेको संख्या घटेर दुई लाख ४३ हजारमा झरेको छ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा भने जम्मा ७९ हजार ६८० जना बैदेशिक रोजगारमा गएका छन्। यसैले गर्दा नेपालको अर्थतन्त्रमा असर पर्ने आकलन गरिएको हो। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या जम्मा तीन हजार ६०५ जना मात्रै थिए।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।