काठमाडौं– उखु किसानको ११ करोड ७४ लाख बक्यौता नतिरेको लुम्बिनी चिनी मिलका सञ्चालक सम्पर्कमा आएका छन्। मिलका सञ्चालक मनिष अग्रवालको मृत्युपछि उक्त उद्योगसँग सम्बन्धित कोही पनि व्यक्ति सम्पर्कमा आएका थिएनन। अग्रवालका बहिनी ज्वाँई कैलाशचन्द्र गोयलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गएर आफूले किसानका भुक्तानी तिर्न पहल गर्ने बताएको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए।
किसानलाई १० करोड ७४ लाख रुपैयाँ तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलका सञ्चालक मनिष अग्रवालको मृत्यु भएपछि अंशियारहरुको खोजी गर्नका लागि भन्दै उद्योग मन्त्रालयले गत पुस २३ गते गृह मन्त्रालयलाई पत्रसमेत पठाएको थियो। त्यस्तै मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलका सञ्चालकहरुको सम्पूर्ण कारोबार रोक्का गर्न माघ ८ गते अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो। कारोबार रोक्काका लागि पत्राचार भएपछि गोयल आइतबार मन्त्रालय पुगेका हुन। लुम्बिनी चिनी मिल सञ्चालकका नातेदार सरकारको सम्पर्क आए पनि उनले रकम कहिलेसम्म भुक्तानी गरिसक्ने भन्ने कुनै लिखित वा मौखिक प्रतिबद्धता भने जनाएका छैनन्।
त्यस्तै राकेश अग्रवाल सञ्चालक रहेको दुइवटा चिनी मिलहरु अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले पनि किसानको बक्यौता तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ। बाँकी ९ वटा चिनी मिलले बक्यौता तिरिसकेका छन भने श्रीराम सुगर मिलले जग्गा बेचेर किसानको पैसा भुक्तानी गर्ने भन्दै किसानसँगै सम्झौता गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।