काठमाडौं- बजार सुधार हुन थाल्यो भन्दै हौसिएका लगानीकर्ता केही दिनको करेक्सनले नै आत्तिन थालेका छन्।
आफूसँग नगद नभई पोर्टफोलियो परिवर्तन गरेर लगानीकर्ताले कारोबारको सीमा बढाउँदै आएका छन्।
हौसिएर खरिद गरेको शेयर मूल्य लगातार घट्न थालेपछि धेरैजसो लगानीकर्ता सकेको नाफा बुक गर्ने नसकेको बढ्दो घाटा 'स्टप लस' रोक्न थालेका हुन्।
यसले बजारमा थप सप्लाई बढेको छ। सप्लाई बढे अनुसार शेयर खरिद गर्ने नयाँ लगानीकर्ता प्रवेश नगर्दा बजार जसरी बढेको थियो त्यसरी नै घट्ने सम्भावना उत्तिकै हुन्छ।
विगत ५ दिन यता शेयर बजार 'करेक्सन' हुने क्रममा छ। प्राविधिक विश्लेषकहरुले यो करेक्सन १२८० मा आएर रोकिने विश्लेषण गरेका थिए। तर बजार झन् तल झर्न थालेपछि लगानीकर्ता शेयर बिक्री गर्न थालेका हुन्।
नाफा खाएका तथा आत्तिएका लगानीकर्ताले बिक्री गरेको शेयर खरिद गर्ने पनि उत्तिकै छन्। उनीहरुको ध्यान सकेसम्म घटाएर खरिद गर्नतर्फ छ। कतिपय लगानीकर्ता करेक्सनको फाइदा उठाउदै खरिद गरिरहेका छन्।
बजार सुधार हुने आधार अझै पनि रहेको भन्दै उनीहरु शेयर खरिद गरिरहेका छन्। तैपनि कारोबार रकम घट्न थालेकोले बजारमा सेलिङ प्रेसर हाबी छ।
यसैबीच, आइतबार नेप्से सूचक २०.७९ अंकले गिरावट आएर १२७६.६८ अंकमा रोकिएको छ। सूचकमा गिरावट देखिए पनि ९६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।
अधिकतम कारोबार हुने कम्पनीहरुमा लघुवित्त र बीमा कम्पनी धेरै छन्। यसै अवधिमा बीमा र लघुवित्तबाट राम्रो नाफा आर्जन गरेकाले बिक्री गरेका छन् भने बजार अझै सुधार हुने अपेक्षामा खरिद गरिरहेका छन्।
डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै ८ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ। नेप्से सूचक सहित सम्पुर्ण सूचक ओरालो झरेका छन्। आइतबार मूल्य सुधार हुनेमा सस्ता कम्पनीहरु बढि छन्। तर गएका दिनमा राम्रो मूल्य बढेका कम्पनी ओरालो झरेका हुन्। सबैभन्दा धेरै बीमाको सूचक घटेको छ।
सूचक रातो देखिए पनि कारोबार रकम अझै पनि एक अर्ब हाराहारीमा हुनुले पनि शेयर बजार अझै सुधार हुने अपेक्षा रहेको संकेत गर्छ। यदि बजार घट्छ भन्ने लागेको भए कसैले पनि शेयर खरिद गर्ने आट गर्दैन थिए।
बजार करेक्सन भएका बेला किन्ने र सुधार भएका बेला किन्ने लगानीकर्ताले यस्तो बेलामा धेरै नाफा आर्जन गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।