काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०० दिनको रोजगारीमा खटिने श्रमिकका लागि सरकारले सामूहिक बिमाको व्यवस्था गरेको छ।
कार्यस्थल सुरक्षा बिमाअन्तर्गत कार्यक्रममा आवद्ध श्रमिकको मृत्यु भएमा न्यूनतम ७ लाखसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
बिमा कार्यक्रम चालु आर्थिक वर्षका लागि माघ १ गतेदेखि असार मसान्तसम्म कायम रहने मन्त्रालयले जानकारी दिएको छ। बीमित श्रमिकको बिमा लेखको अवधि श्रमिक नियुक्ति भएको दिनदेखि १ सय दिनसम्म कायम रहने व्यवस्था मिलाइएको छ। शारीरिक अशक्त भएमा अवस्था हेरेर सुविधा दिने व्यवस्था छ। दुर्घटना भई उपचार गराउनु परेमा अधिकतम १ लाखसम्म उपचार खर्चको व्यवस्था गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।