काठमाडौं– एक महिना अवधिमा ५३ वटा म्यानपावरले १/१ जनामात्रै कामदार वैदेशिक रोजगारीमा पठाएका छन्।
पुस लक्की ओभरसिज प्रालि, मोडेल इन्टरप्राइजेज प्रालि, नमोवुद्ध रिक्रुटमेन्ट प्रालि, वर्ल्ड फेभर ओभरसिज प्रालिलगायत ५३ वटा म्यानपावरले प्रतिम्यानपावर १ जनामात्रै पठाएका हुन्।
सबैभन्दा बढी कामदार पठाउने म्यानपावरमा द रिभर ओभसिज प्रालि छ। रिभरले पुस महिनामा ५ सय ९३ कामदार पठाएको हो। त्यसपछि प्याराडाइज इन्टरनेशनल प्रालिले ४ सय ५१ कामदार पठाएको छ भने तेश्रो नम्बरमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रालिले ४ सय ३२ जना पठाएको छ।
३ सयभन्दा बढी कामदार पठाउनेमा अन्जली ओभरसिज सर्भिस प्रालि तथा एसओएस सर्भिसेस प्रालि छन्। वैदेशिक रोजगार विभागमा दर्ता भएका ८ सय ५४ म्यानपावरमध्ये ७ सय ६८ कम्पनीले मात्रै वैदेशिक रोजगारीमा कामदार पठाएको विभागको तथ्यांकले देखाउँछ। कानुनी प्रकृयाअनुसार न्यूनतम २ करोड धरौटी राखेका ८६ म्यानपावरले एकजना पनि कामदार पठाउन सकेका छैनन्। निकै ठूलो धरौटी राखेका म्यानपावरहरु विविध कारणले समस्यामा रहेको म्यानपावर व्यवसायीले बताएका छन्।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकालमा म्यानपावर कम्पनी वर्गीकरण गरी वर्षमा कम्तिमा १ सय कामदार पठाउनैपर्ने व्यवस्था अघि बढिसकेको छ। निरन्तर दुई वर्षसम्म एक सय कामदार पठाउन नसके म्यानपावर कम्पनी खारेज गर्ने गरी वैदेशिक रोजगार ऐन पारित भइसकेको छ। यो व्यवस्थाले करोडौँ धरौटी राखेका म्यानपावर व्यवसायी मारमा पर्ने व्यवसायीहरु बताउँछन्।
‘७ सयभन्दा बढी म्यानपावरहरु मलेसियासँग मात्रै निर्भर थिए। करिब १७ महिना बन्द भएको मलेसियापछि म्यानपावरहरुको अवस्था खस्कियो। अहिले पनि खाडी मुलुकहरुले अन्य मुलुकबाट कामदारको कोटा बढाएर नेपालबाट थोरै संख्यामा मात्रै कामदार लैजान थालेका छन् । त्यसले गर्दा पनि म्यानपावरहरुले कामदार पठाउन सकेका छैनन्’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले नेपाल लाईभसँग भने।
सरकार तथा कूटनीतिक नियोगहरुले सहयोग नगर्दा युरोपियन मुलुकबाट समेत डिमाण्डहरु ल्याउन नसकेको उनको भनाइ छ। महासचिव श्रेष्ठ भन्छन्, ‘कामदार पठाउन नसक्दा म्यानपावर कम्पनीको इजाजत खारेज हुनु भनेको चिया बेच्न खोलिएको चिया पसलमा यति कप चिया बेच्नैपर्ने नत्र बन्द गर्नुपर्छ भनेजस्तै हो । त्यो नियम व्यावहारिक छैन ।’ यससम्बन्धमा म्यानपावर व्यवसायीहरुले सम्बन्धित निकायसँग लबिइङ गर्दै आएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।