काठमाडौं- एनएमबी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो।
लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको यही अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको थियो। विवरणअनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो। यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत् ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ। एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।