काठमाडौं- पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला भलिबलको फाइनलमा न्यू डायमन्ड क्लबलाई ३–१ ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेको छ।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा एपिएफले पहिलो सेट २५–२३ ले जितेको थियो।
लगातार दोस्रो सेट एपिएफले २५–२१ ले जित्यो। तेस्रो सेटमा खेलमा फर्किएको न्यु डायमन्डले २५–२३ ले हराएको थियो।
तेस्रो सेटमा न्यु डायमन्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली घाइते हुनाले चौथो सेटमा खेलमा फर्कन कठीन देखिएको थियो। एपिएफले चौथो सेट २५–१८ ले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
राष्ट्रिय महिला भलिबल टिममा समेत महत्वपूर्ण रहेकी प्रतिभाको घुँडामा चोट लागेपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। उनको चोटको अवस्था केही दिनमा थाहा हुने जानकारी अस्पतालले दिएको न्यु डायमन्डका प्रशिक्षक कुमार राईले बताए।
‘हाम्रो खेलमा फर्कने अवसर थियो, तर प्रतिभा घाइते हुनु दुर्भाग्य भयो। उसको चोट कस्तो हो भन्ने सबै रिपोर्ट आएपछि थाहा होला, हड्डीमा समस्या छैन भन्ने कुरा आएको छ। लिगामेन्टमा या अन्य के समस्या छ भन्ने सोमबारसम्म थाहा हुने डाक्टरले बताएका छन्’ प्रशिक्षक राईले भने।
सेमिफाइनलमा यू डाइमन्डले त्रिभुवन आर्मी क्लबलाई र एपिएफले नेपाल पुलिसलाई हराएका थिए। विजेता एपिएफले दुई लाख र उपविजेता न्यू डायमन्डले १ लाख रुपैयाँसहित ट्रफी पुरस्कार पाए।
थप तस्बिरमा खेल :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।