काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले वाणिज्य बैंकहरुलाई मर्जरमा जान सुझाएका छन्। उनले मर्जरमा जान चाहने बैंकहरुलाई आवश्यक परे अन्य सुविधा दिन पनि तयार भएको बताए।
राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले अझै पनि बैंकहरुले आफ्नो व्यवसाय मिल्ने अथवा स्वामित्वमा मिल्ने व्यवसायिक घरानाहरुले बैंक मर्जरमा जान सुझाएका छन्।
बैंकहरुको अबको बाटो सुदृढीकरणतर्फ अगाडि बढ्नुपर्ने भन्दै मन्त्री खतिवडाले संख्यात्मक विस्तारलाई भन्दा गुणस्तरियताको बाटोमा लाग्नुपर्ने बताएका छन्। उनले भने‚ 'हामीले बैंकहरु मर्जरमा जानुपर्यो भन्यौं। अझै पनि मर्जरमा जान चाहनुहुन्छ भने सरकारले प्रोत्साहन गर्छ।'
वाणिज्य बैंक नाफा गर्ने बैंकहरुमध्ये एक नम्बरमा आउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। बैंक पूर्ण रुपमा आधुनिक भएको उनको दावी छ। बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा बैंकले खेलेको भूमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए।
बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामो समयदेखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेको बताए। बैंकले पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम बिक्री गरेर बैंकलाई थप आधुनिक बनाएको दाबी गरे। लामो समयदेखि पेन्डिङमा रहेका हिसाब मिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।