काठमाडौं– सरकारले भन्सारमा सिंगल कन्साइन्मेन्ट प्रणाली लागू गर्ने तयारी गरेको छ। आयातलाई व्यवस्थित बनाउन सिंगल कन्साइन्मेन्ट प्रणाली कार्यान्वयनको तयारी गरिएको भन्सार विभागले जनाएको छ।
‘अहिले एउटै कन्साइन्मेन्टबाट जति पनि सामान ल्याउन पाउने व्यवस्था छ, यसलाई व्यवस्थित बनाउन नयाँ प्रणालीमा जान खोजिएको हो,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘यसले जाँचपास प्रक्रियालाई पनि सरल बनाउँछ।’
सिंगल कन्साइन्मेन्ट प्रणालीमा जानका लागि भन्सार विभाग, अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तु वर्गीकरणको काम अघि बढाएका छन्। ‘यो प्रणालीको कार्यान्वयनपछि एउटा कन्साइन्टमा एउटा वर्गीकरणमा परेका वस्तुमात्रै आयात गर्न सकिन्छ,’ उनले भने।
अहिले आयातकर्ताले एउटा कन्साइन्मेन्टबाट धेरै वस्तु आयात गरिरहेका छन्। भन्सार विभागका अनुसार एउटै कन्साइन्मेन्टमा ४५ किसिमका वस्तु आयात गरिएको पनि भेटिएको छ।
सरकारले हार्मोनाइज्ड कमोडिटी डिस्क्रिप्सन एन्ड कोडिङ सिस्टम (एचएस कोड)अनुसार वस्तु वर्गीकरण गरिरहेको छ। यसअनुसार अहिले ९७ किसिमका वस्तु वर्गीकरण हुने गरेको छ। नयाँ प्रणालीमा गएपछि एउटै वर्गमा पर्ने वस्तुमात्रै एउटा कन्साइन्मेन्टबाट ल्याउन सकिन्छ।
‘९.४४ प्रतिशत कन्साइन्मेन्ट मात्रै सन्दर्भ मूल्यमा’
भन्सार विभागले देशमा भित्रने कूल वस्तुमध्ये ९.४४ प्रतिशतमात्रै सन्दर्भ मूल्यका आधारमा जाँचपास हुने गरेको जनाएको छ। विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले ९०.५६ प्रतिशत वस्तु कारोबार मूल्यका आधारमा जाँचपास भइरहेको बताए।
भण्डारीले सन्दर्भ मूल्यमा भएको कूल भन्सार मूल्यांकनमध्ये ०.३ प्रतिशतमात्रै पुनरावलोकनका लागि आएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।