काठमाडाैं- नेपाल वायु सेवा निगमको व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरण (नियमक निकाय)को अनुमतिविनै १० जना प्रशिक्षक एयरहोस्टसलाई रिफ्रेस तालिम दिएको छ।
आइतबारमात्रै निगमको कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिएका मदन खरेलले प्राधिकरणको अनुमतिविना नै १० जना एयरहोस्टेस (परिचालक)लाई श्रीलंका तालिममा पठाएका हुन्। ‘प्रशिक्षक एयरहोस्टेस रिफ्रेसमेन्ट’ तालिमको नाम भएपनि तालिममा अवकाश प्राप्त प्रशिक्षक र प्रशिक्षक नै नभएका एयरहोस्टेसलाई पनि तालिममा पठाइएको निगम स्रोतले जानकारी दिएको छ।
निगम स्रोतमा अनुसार उक्त तालिम काठमाडौंमा नै गर्ने तयारी भएको थियो। तर, आर्थिक प्रलोभनमा परेर अध्यक्ष खरेलले तालिमका लागि एयरहोस्टेस श्रीलंका पठाएका हुन्। ‘काठमाडौंमा तालिम गराएको भए अधिकतम ७ हजार डलर मात्रै खर्च हुन्थ्यो,’ निगमका एक पाइलटले भने, ‘ट्राभलदेखि होटलसम्मको कमिसनका लागि २५ हजार डलर खर्च गराइएको छ।’
तालिमको विषयमा नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग बुझ्दा प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले निगमबाट पत्र आएको जानकारी दिए। पत्र आएपनि पत्र उपर कुनै निर्णय भइनसकेकाे क्षेत्री बताउँछन्।
‘प्राधिकरणले तालिमको विषयमा आवश्यक कागजपत्र माग गरेको छ,’ क्षेत्रीले भने, ‘निगमले पठाएको आवश्यक कागजपत्र हेरेपछि मात्रै अनुमति दिने वा नदिने निर्णय हुन्छ।’ तर, निगमले भने प्राधिकरणको अनुमति आउने अगाडिनै उनीहरुलाई तालिमा पठाइसकेको छ। निगमले पीएल श्रेष्ठ, खल्का राई, सुष्मा तमाङ, सिर्जना केसी, शान्तवना तुलाचन, प्रदा जोशी, प्रजिता कार्की, मन्जु ढकाल, सुष्मा वैद्य र सुमिलि सुब्बालाई प्रशिक्षक एयरहोस्टेस तालिममा पठाएको हो। उनीहरु जनवरी १० मा श्रीलंका गएका थिए। तालिम सकेर जवनरी १९ मा नेपाल फकिसेकका छन्। तर, प्राधिकरणबाट तालिमको अनुमति भने भएका छैनन्।
यसरी तालिममा जाने मध्ये दुई जना भने अवकाश पाइसकेका प्रशिक्षक एयरहोस्टेस छन्। यो तालिनमा पहिले नै प्रशिक्षक एयरहोस्टेस भएका लागि दिने तालिम भएपनि अवकाश भएका र प्रशिक्षक नै नभएकालाई खरेलले तालिममा पठाएका हुन्।
जसमा खल्का राई र पीए श्रेष्ठ अवकाश भएसकेका प्रशिक्षक एयरहोस्टेस हुन्। यसैगरी तालिमा गएका मन्जु ढकाल, सुष्मा वैद्य र शान्तवना तुलाचन प्रशिक्षक एयर होस्टेसनै हैनन् भने बाँकी ५ जना भने १० वर्षदेखि प्रशिक्षक एयरहोस्टेस हुन्।
प्राधिकरणबाट प्रशिक्षक प्रमाणपत्र नपाएका ढकाल, वैद्य र तुलाचनलाई निगमले प्रशिक्षक एयरहाेस्टेस भएकाे दाबी गर्दै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।