काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ। लघुवित्त वित्तीय संस्थाहरु मध्ये यो अहलेसम्मकै सबैभन्दा धेरै प्राथमिक शेयरको निष्काशन हुने भएको हो।
प्राथमिक शेयर निष्काशनका लागि संस्थाले सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। संस्थाले प्राथमिक सेयर निष्कासन गर्न गरेको रेटिङमा मध्यम किसिमको सुरक्षाको संकेत जनाउने ‘केयर एनपी आइपिओ ग्रेड चार प्लस’ प्राप्त गरेको छ।
एनआईसी एशियाको मूल्य लगानी रहेको संस्थाले नेपाल राष्ट्र बैंकबाट संस्थाले २०७४ मंसिरमा सञ्चालन अनुमति प्राप्त गरेको थियो। संस्थाको मुख्य कार्यालय जाजरकोटमा छ। न्यून आयस्रोत भएका परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले स्थानीय स्तरको विकासमा टेवा पुर्याउँदै आएको छ।
प्रमुख कार्यकारीमा लक्ष्मीप्रसाद शर्मा र सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल छन्। शर्मालाई एनआईसी एशिया बैंकले पठाएको हो। बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा लामो अनुभव भएका शर्माले लघुवित्त क्षेत्रमा मात्रै नौ वर्ष काम गरेका छन्।
लघुवित्त दुई वर्षको अवधिमै १८ वटा जिल्लामा ५८ वटा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ। चालु आर्थिक वर्ष थप ५० वटा शाखा कार्यालय विस्तार गर्ने योजना छ। निक्षेप संकलन, कर्जा लगानी, रेमिट्यान्स र बीमाको सुविधा प्रदान गर्दै आएको छ।
हालको चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड २९ लाख रूपैयाँ छ। प्राथमिक सेयर निष्काशनपछि चुक्ता पुँजी एक अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ। प्राथमिक सेयर निष्कासनपछि एनआईसी एशिया पुँजीको हिसाबले तेस्रो स्थानमा हुनेछ। पहिलोमा निर्धन उत्थान र छिमेक लघुवित्तको एक अर्ब ५० करोड रूपैयाँ पुँजी छ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा संस्थाले तीन अर्ब नौ करोड रूपैयाँ ऋण लिएको छ। त्यस्तै ६३ करोड १२ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ। यसै अवधिमा चार अर्ब ४० करोड रूपैयाँको कर्जा लगानी गरेको छ।
एनआईसी एशिया बैंकको लगानी रहेको लघुवित्त संस्थाले बैंककै शैलीमा शाखा विस्तार र कर्जा लगानीमा जोड दिएको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा संस्थाले ५ करोड ५३ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।