काठमाडाैं- नेपाल वायुसेवा निगमका २२ पाइलटले सेवा सुविधानकाे माग गर्दै राजीनामा दिने चेतावनीसहितकाे पत्र निगमलाई बुझाएका छन्। निगमको अन्तर्राष्ट्रिय उडानका ४० मध्ये पाइलट र काे- पाइलट गरी २२ जनाले बिहीबार यस्ताे पत्र निगमलाई बुझाएका हुन्।
निगमको ६० वर्षे इतिहासमा पहिलोपटक यति धेरै पाइलटले सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई पत्र बुझाएका हुन्। व्यवस्थापनका कारण निगम धराशयी भएको उनीहरुकाे आराेप छ।
तीन महिनासम्म व्वस्थापन पक्षले आफ्ना मागकाे सुनुवाइ नगरे उनीहरुले सामूहिक राजीनामा गर्ने बताएका छन्। उनीहरुकाे राजीनामा स्वीकृत भए निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ।
निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले व्यवस्थापनको कमजोरी र सुविधाका विषयमा विभेद गरेको भनेर पत्र आएकाे बताए। ‘पाइलटहरूको पत्र आएकाे छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने। चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।