काठमाडौं- व्यापारीहरुले आफूखुसी मुल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छड तथा डण्डी र सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ आयातको बिलबिजक र भन्सार पाससम्बन्धी विवरणहरु पेश गर्न भनेको छ।
विभागले बिहीबार छड तथा सिमेन्ट व्यवसायीहरुसँग मुल्य बढाउनुको कारणबारे छलफल गरेको थियो। व्यवसायीहरुले छड तथा सिमेन्टको उत्पादनका लागि भारतबाट ल्याइने कच्चा पदार्थको मुल्य बढेका कारण यी वस्तुको बजार मुल्य बढेको बताएपछि विभागले कच्चा पदार्थ आयात गर्दा भारतमा खरिद गरेको बिलबिजक र भन्सार जाँचपाससम्बन्धी विवरण मागेको हो।
‘हामीले उनीहरुलाई २-३ महिना अगाडिको विवरण र बढेको भनेको पछिल्लो विवरण पेश गर्न भनेका छौं। पहिलेको र अहिलेको विवरण अध्ययन गरेपछि कच्चा पदार्थको मुल्य बढे-नबढेको थाहा हुन्छ,’ विभागका अधिकृत दीपकराज पोखरेलले भने।
सिमेन्ट उत्पादनका लागि चाँहिने कच्चा पदार्थ क्लिंकर र छड उत्पादनका लागि चाहिने ‘ब्लेड’ को भारतीय बजारमा मुल्य बढेकाले त्यसको असर सिमेन्ट र डन्डीमा पनि देखिएको व्यवसायीहरुले बताउने गरेका छन्।
विभागले बुधबार उपत्यकाका विभिन्न स्थानका हार्डवेयर पसलमा पुगेर अनुगमन गरेको थियो। अनुगमनपछि विभागले मुल्य विश्लेषणका लागि खरिद तथा बिक्री बिल लिएको थियो। ती बिलबिजकको अध्ययनपछि डण्डीमा प्रतिकिलो २ रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २० रुपैयाँसम्म मुल्य बढाएका भेटिएको पोखरेलले बताए।
कोटेश्वरमा कोटेश्वर डण्डी पसल ट्रेडर्स, राजेश हार्डवेयर प्राली, बिक्की हार्डवेयर हाउस, दिपेस स्टोर, फार इस्टर्न ट्रेडिङ कम्पनी, पन्चकन्या हार्डवेयर कम्पनी, श्री लक्ष्मी इन्टरप्राइजेज, मनहरा हार्डवेयर, पञ्चकन्या हार्डवेयर, सन्तोषी सप्लायर्स, जय शिव पार्वती हार्डवेयर सेन्टरमा अनुगमन गरेको थियो।
ती पसलमा अनुगमन गर्दा छडको मुल्य प्रतिकिलो २ देखि ३ रुपैयाँ र सिमेन्ट प्रतिबोरा २० रुपैयाँसम्म बढाएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।