काठमाडौं- नेपालमा कार्यरत पर्यटन व्यावसायीहरुले पर्यटनसँग सम्बन्धित सरकारी संस्थाहरुमा खाली रहेको नेतृत्व ल्याउन माग गरेका छन्।
व्यावसायीहरुका छाता संगठनका प्रतिनिधिहरु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमै पुगेर तत्काल नेतृत्व ल्याउन आग्रह गरेका छन्।
उनीहरुले भिजिट नेपाल २०२० मनाइरहेको अवस्थामा सरकारले पर्यटन सम्बद्ध संस्थामा नेतृत्व नहुँदा सकारात्मक सन्देश नजाउने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
करीब एक/एक दर्जन संस्थाका प्रतिनिधिहरुले सामूहिक रुपमा मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको होटल एसोशिएसन नेपाल(हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।
डिसेम्बर २४ मा पर्यटन बोर्डको प्रमुख कार्यकारी पद खाली भएको छ। सोही पदमा नियुक्तिका लागि बोर्डले खुला प्रतिस्पर्धाबाट छनौट गर्दै तीनजनाको नाम तय गरिसकेको छ। त्यसबाट एक जना प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने भएपनि रोकिएको छ।
त्यस्तै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले गत साता राजिनामा दिएपछि कार्यकारी पद खाली रहेको छ। नेपाल एयरलाइन्समा महाप्रबन्धक नियुक्ति गर्ने सरकारले तयारी गरिरहेको छ।
भेटको क्रममा मन्त्री योगेश भट्टराईले सकारात्मक प्रतिक्रिया दिएको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।