काठमाडौं- विश्वका ठूला सवारी उत्पादकको बिक्री प्रतिस्पर्धा तीव्र रहेको छ। सवारी उत्पादकहरुबीच इन्ट्रिलेवलदेखि प्रिमियम कार उत्पादनमा होड नै चलेको छ। प्यासेन्जर सवारीको उत्पादन तथा बिक्रीमा एक नम्बर बन्ने चाहना सबै उत्पादकको हुन्छ नै। तर विश्वभरका सवारी उपभोक्ताको रोजाइमा पर्ने कार ब्रान्ड नै बिक्रीका क्रममा पहिलो बन्छ।
एकै खालका सवारी उत्पादकलाई पहिलो बन्न निक्कै कठिन हुन्छ। टोयोटासँग प्रिमियम ब्रान्ड लेक्सस, मध्यम रेन्जमा टोयोटा तथा साना र तुलनात्मक रुपमा सस्ता कार डाइहात्सु ब्रान्डको छ।
२०१९ मा सवारी बिक्रीका हिसाबले यही जापानी ब्रान्ड टोयोटा पहिलो नम्बरमा छ। सन् २०१२ मा टोयोटाको विश्व बजारमा आफ्नो हिस्सा हालसम्मकै सर्वाधिक १०.२ प्रतिशत थियो। त्यसयता २०१६ मा टोयोटाको बजार हिस्सा ९.२ प्रतिशतमा सीमित भएको थियो।
२०१९ मा पनि टोयोटाले आफ्नै रेकर्ड ब्रेक गर्न नसके पनि २०१२ कै शहर १०.२ प्रतिशत बजार हिस्सा पुर्याएको छ। गत वर्ष टोयोटाले विश्वभर ८६ लाख ८३ हजार ४९ वटा सवारी बिक्री गरेको तथ्यांक फोकस-२ मुभ डटकमले लेखेको छ।
त्यस्तै दोस्रो स्थानमा जर्मन सवारी उत्पादक कम्पनी फक्सवागन हो। २०१९ मा फक्सवागनको विश्व कार बजारमा हिस्सा ७.६ प्रतिशत रहेको थियो। फक्सवागन ग्रुपअन्तर्गतका सवारी २०१९ मा ६४ लाख ३६ हजार ५ सय ४८ वटा बिक्री भएको हो।
तेस्रो स्थानमा अमेरिकी कार उत्पादक कम्पनी फोर्ड छ। २०१९ मा ४७ लाख ३५ हजार ५ सय ७५ वटा गाडी बिक्री गरेको फोर्डको विश्व बजार हिस्सा ५.६ प्रतिशत रहेको छ। यो पछिल्लो ५/६ वर्ष यताकै न्यून हो।
अर्को जापानी सवारी उत्पादक होन्डा धेरै सवारी बिक्री गर्ने ब्रान्डको सूचीमा चौथो स्थानमा रहेको छ। २०१९ मा होन्डाले विश्वभर ४६ लाख ३० हजार ८ सय ६८ वटा कार बिक्री गरेको हो। होन्डाको बजार हिस्सा ५.४६ प्रतिशत छ। पाँचौं स्थानमा पनि जापानी कम्पनी नै रहेको छ।
बिक्री संख्याका आधारमा पाँचौं स्थानमा रहेको निसानले २०१९ मा ४३ लाख ६६ हजार ५ सय ५३ वटा कार बिक्री गरेको हो। निसानको विश्व बजार हिस्सा ५.१५ प्रतिशत रहेको छ।
विश्वमा सार्वाधिक बिक्री हुने कार ब्रान्डको छैटौं स्थानमा कोरियाली कम्पनी हुन्डाई छ। गत वर्ष हुन्डाईले ४२ लाख ७९ हजार १ सय ५५ वटा कार बिक्री गर्दै ५.०५ प्रतिशत बजार हिस्सा ओगटेको छ। हुन्डाईलाई पछ्याउँदै सातौं स्थानमा अमेरिकी सवारी उत्पादक सेब्रोले रहेको छ। २०१९ मा सेब्रोलेका ३८ लाख ३१ हजार ५ सय ६६ वटा कार बिक्री गर्दै विश्व कार बजारको ४.५२ प्रतिशत हिस्सा ओगटेको छ।
आठौं स्थानमा पनि कोरियाली कम्पानी किया रहेको छ। हुन्डाई मोटरकै अर्को ब्रान्डका रुपमा कियाका कार गत वर्ष २८ लाख ४३ हजार ६ सय ३७ वटा बिक्री भएको छ। २०१९ मा कियाको विश्व बजार हिस्सा ३.३५ प्रतिशत रहेको देखिन्छ।
कियालाई पछ्याउँदै नवौं र दसौं स्थानमा जर्मन सवारी उत्पादक कम्पनी क्रमशः मर्सिडिज र बिएमडब्लू रहेका छन्। २०१९ मा नवौं स्थानमा रहेको विलासी कार निर्माता मर्सिडिजले २४ लाख ९० हजार ९ सय ९९ वटा कार बिक्री गरेको छ।
मर्सिडिजको विश्व बजारमा आफ्नो हिस्सा २.९४ प्रतिशत छ। साथै दसौं स्थानमा रहेको बिएमडब्लूले २०१९ मा विश्वभर २२ लाख १९ हजार ७ सय ७३ वटा कार बिक्री गर्न सफल भएको छ। गत वर्ष बिएमडब्लूको बजार हिस्सा २.२६ प्रतिशत रहेको फोकस-२ मुभले लेखेको छ।
माथि उल्लिखित सबै ब्रान्डका कार नेपाली बजारमा उपलब्ध रहेका छन्। टोयोटाका कार युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्दै आएको छ भने फक्सवागनका कार पुजा इन्टरनेशनलले उपलब्ध गराउँदै आएको छ।
फोर्ड, होन्डा, निसान, हुन्डाई, किया तथा मर्सिडिजका कार आधिकारिक बिक्रेता मार्फनै बिक्री भइरहेको छ। बिएमडब्लूको पनि लक्ष्मी ग्रपअन्तर्गत आधिकारिक बिक्रेता तोकिएको छ। ग्रुपले तिनकुनेमा बिएमडब्लूको सोरुम निर्माण गरिरहेको छ भने औपचारिक घोषणा भने गरेको छैन।
त्यस्तै विगतमा आधिकरिक बिक्रेतामार्फत बिक्री भएको सेब्रोले विवादका कारण हाल उपलब्ध छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।