काठमाडौं- नेपाली अटो बजारमा अर्को एउटा ह्याचब्याक कार दमदार प्रतिस्पर्धीको रुपमा आएको छ। पहिलोपटक कार किन्नेहरुको रोजाइमा अक्सर ह्याचब्याक कार नै हुने गरेको छ। त्यसैले सबैजसो सवारी उत्पादकहरुले इन्ट्रिलेवलदेखि प्रिमियम ह्याचब्याक कार उत्पादन गर्ने गरेका छन्।
यस्तैमा फ्रेन्च कम्पनी रेनोको नयाँ ह्याचब्याक कार ट्राइबर नेपाली बजारमा भित्रिएको छ। रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले बिहीबार उक्त कार सार्वजनिक गरेको हो।
कम्पनीले नेपाली बजारमा यो कारको मूल्य २८ लाख २० हजार रुपैयाँबाट सुरु हुने जनाएको छ। ट्राइबर आरएक्सई भेरियन्टको २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको ३३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ।
रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तीन भेरियन्टमा उपलब्ध हुने रहेको छ। तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमताको कारका रुपमा बिक्री गरिरहेको छ। नेपालमा पनि यो कारमा उपभोक्ताको चाहना र आवश्यकताअनुसार दुईवटा ‘एडजस्टेवल’ सिट राख्न सकिने कम्पनीले जनाएको छ। त्यसैले यो कारलाई १ देखि ७ सिटर कारका रुपमा व्याख्या गरिएको छ।
आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन छ। उक्त इन्जिनले ६२ सय ५० आरपिएममा ७२ पिएस पावरका साथै ३५ सय आरपिएममा ९६ एनएमको टर्क उत्पादन गर्छ।
यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन समेत उपलब्ध छ।
कारको लम्बाई ३९ सय ९० एमएम, चौडाई १७ सय ३९ एमएम र उचाई १६ सय ४३ एमएम छ भने ह्विलबेस २६ सय ३६ एमएम रहेको छ। १ सय ८२ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्यांकी उपलब्ध छ।
कारमा यात्रुको सुरक्षाका लागि ४ वटासम्म एयरब्याग, इबिडी सहितको एबिएसलगायत विभिन्न विशेषता छ। यो कारमा सेगमेन्टकै धेरै ६ सय २५ लिटरको बुटस्पेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।