काठमाडौं- दोस्रो बजारमा कारोबार रकम बढ्न थालेपछि बैंक ग्यारेन्टीको लिमिटले हैरान पार्न थालेको छ। सोचेको भन्दा धेरै कारोबार हुन थालेपछि ब्रोकरहरु बैंक ग्यारेन्टीको रकम बढाउन थालेका छन्। लिमिटभन्दा माथि कारोबार भएपछि स्वचालित रुपमा कारोबार बन्द हुन्छ।
लिमिट कम हुँदा दिन दिनै ब्रोकरहरुको कारोबार रोक्का हुने गरेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए। बिहीबार पनि ६ वटा ब्रोकरहरुको केही समयका लागि कारोबार बन्द भयो। सिमाभन्दा माथिको कारोबार हुने बित्तिकै ब्रोकरहरुले तुरुन्तै बैंकमा पैसा जम्मा गरेर सिमा बढाउने व्यवस्था भएको पराजुलीले बताए।
नेपाल स्टक एक्सचेन्जले केही समय अगाडि कारोबार विनियमावली संशोधन गर्ने क्रममा लिमिटको ५० गुणाबाट २५ गुणामा झार्दा समस्या देखा परेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले बताए। यसका लागि ब्रोकर आफैं सचेत भएर लिमिट बढाउनुपर्ने उनको तर्क छ।
यस साताको कारोबार ५ दिनमा मात्रै ८ अर्ब ५४ करोड रुपैयाँको भयो। यति कारोबार कुनै बेलामा एक महिनामा पनि हुँदैन थियो। एउटा ब्रोकरले एक लाख रुपैयाँको बैंक ग्यारेन्टी राख्यो भने २५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउँछन्। कतिपय ब्रोकरले यस्तो लिमिट घटेको पत्तो नपाउँदा पनि उनीहरुको कारोबार रोक्का भएको थियो।
अहिलेको अवस्थामा ब्रोकरहरुले कम्तिमा पनि तीन दिनको लागि आवश्यक पर्ने बैंक ग्यारेन्टी जोहो गर्नुपर्छ। नेप्सेको कारोबार राफसाफ हुन कम्तिमा पनि तीन दिन लाग्छ। तर एकै दिन करोडौं रुपैयाँको कारोबार हुँदा ब्रोकरले आफ्नो लिमिट नाघेको पत्तो पाउदैनन्।
यस सातामा भएको कारोबार
एकसाताको अवधिमा भएको कारोबार रकम |
माघ ९ | 1,384,209,412 |
माघ ८ | 1,581,381,364 |
माघ ७ | 1,519,976,760 |
माघ ६ | 1,970,387,993 |
माघ ५ | 2,090,877,917 |
जम्मा | 8,546,833,446 |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।