पोखरा– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम २०२० को डिसेम्बरभित्रै सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ। चिनियाँ एक्जिम बैंकको ऋणमा भइरहेको विमानस्थल निर्माणमा अहिले ५० प्रतिशतभन्दा बढी काम सकिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी जानकारी दिए।
विमानस्थलको २५ सय मिटरको रन–वे निर्माणको काम सकिएको छ। रन–वेमा लाइटको काम भने बाँकी छ। यसैगरी विमानस्थलमा ११ वटा जहाज पार्किङ वे र ट्याक्सी वे निर्माणको काम पनि सकिएको छ। रन–वे, ट्याक्सी र पार्किङ वे सबै ढलान हो। रन–वेको बेस ७४ इन्चको छ, जसमा ३४ इन्चको सबैभन्दा माथिलो तहको ढलान छ।
निर्माण कम्पनीले विमानस्थलभित्र आवश्यक भवन निर्माणको काम पनि तीव्र रुपमा गरिरहेको छ। विमानस्थललाई आवश्यक आगमन र प्रस्थान टर्मिनल भवन, प्रशासकीय भवन, फायर फाइटर भवन, भन्सार, कार्गो, फायर फाइटर टावर, विद्युत सप्लाइ भवन लगायतका १४ वटा भवनको संरचना निर्माणको काम पनि सकिइसकेको छ।
अहिले निर्माण कम्पनीले तयार भएको संरचनामा वाल लगाउने तथा फिनिसिङको काम थालिसकेको छ। झन्डै २३ अर्ब रुपैयाँमा निर्माण हुने विमानस्थलका लागि प्राधिकरणले पनि ५ अर्ब भन्दा बढी रकमको जग्गा अधिग्रहण गरिसकेको छ। आयोजना प्रमुखका अनुसार विमानस्थल पेरिफेरि सडक पनि निर्माण भइरहेको छ। अहिले नेपाली र चिनियाँ गरी ५ सयभन्दा बढी कामदार विमानस्थल निर्माणमा संलग्न छन्।
विमानस्थलको क्षमता प्रति घन्टा ६ सय यात्रुलाई सेवा दिनसक्ने छ। विमानस्थलमा ए३२० र बोइङ ७३७ प्रकृतिको जहाज अवतरण गर्न सकिने आयोजना कार्यालयको भनाइ छ। सरकारले यो विमानस्थललाई विश्वकै सुन्दर विमानस्थलको रुपमा अगाडि बढाउने तयारीसमेत गरेको छ। विमानस्थलको रन–वेको आयु पनि ५० वर्षसम्म हुने मुनकर्मी बताउँछन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको ढलान प्रयोग गरेर बनाइएको छ। सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयमसीमा तोकिएको छ। पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए।
झन्डै २३ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई दिने सहमतिसँगै विमानस्थल निर्माणको काम सुरु भएको थियो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।