काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलको राजिनामा स्वीकृत गरेको छ। खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई समक्ष राजिनामा दिएका थिए।
खरेललाई निगम सञ्चालन बोर्डले दुई साता अगाडि ५ बुँदे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधेपछि खरेलले केही समय बिदामा बस्ने भन्दै सञ्चालन बोर्डबाट बिदा स्वीकृत गर्न खोजेका थिए। तर, सञ्चालन बोर्डले स्पष्टीकरण नदिएको भन्दै बिदा स्वीकृत गरेको थिएन।
साथै एयर बस-३२० र ए-३३० का २७ जना पाइलटले संयुक्त रुपमा राजिनामा दिने तयारी गरेसँगै खरेलले आफैंले राजिनामा दिएका थिए। खरेलले आइतबार राजिनामा दिँदै अष्ट्रेलिया गइसकेका छन्। खरेललाई सरकारले २०७५ भदौ ३१ गते नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको थियो।
खरेलले निगमको जिम्मेवारी पाएदेखि निगम सँधै विवादमा आएको थियो। खरेलकै कार्यकालमा निगम झन्डै २ अर्ब घाटामा गएको थियो। खरेलले आफूखुसी नारिता उडान नगरी ओसाका उडान गर्दा पनि १२ करोडभन्दा बढी निगमले घाटा बेहोरेको थियो।
खरेलले सरकार समक्ष पेस गरेको कुनै पनि योजनाका काम गर्न नसकेपछि उनलाई राजिनामा दिन प्रधानमन्त्री तथा मन्त्रालयबाट सुझाव दिएएको थियो। ४ वर्ष अगाडि पनि खरेलले निगम सञ्चालन बोर्डले सोधेको स्पष्टीकरण नदिई महाप्रबन्धकबाट राजिनामा दिएका थिए।
खरेलेको राजिनामा स्वीकृत गर्दै सरकाले रिक्त रहेको सञ्चालक पदमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई नियुक्त गरेको छ। तर, कार्यकारीको अधिकार भने कसैलाई पनि दिइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।