डडेल्धुरा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ५ वर्षदेखि रहेको उखु किसानको समस्या ९० प्रतिशत समाधान भएको बताएका छन्।
बिहीबार राष्ट्रियसभाको निर्वाचनका लागि डोटी जाने क्रममा डडेल्धुरामा पत्रकारहरुसँग संक्षिप्त कुरा कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘४-५ वर्ष अघिदेखि 'क्रोनिक' बनेको उखु किसानको समस्या थियो। ९० प्रतिशतसम्म हल भा'छ। सरकारले तोकेको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ समर्थन मूल्य तिर्ने काम ९० प्रतिशत सकिएको छ,' उनले भने, 'बाँकी १० प्रतिशत मात्र किसानको रकम तिर्ने काम पनि जारी छ।' चिनी मिल र कृषकबीच बक्यौताका विषयमा एकमत नरहेकाले केही समस्या रहेको समेत उनले बताए।
'एउटा राकेश अग्रवाल भन्ने छ। उसले २५ करोड भन्छ, किसानले ४२ करोड भन्दैछन्,' यस्ता विवाद समाधन गर्न कार्यदल बनाइएको उल्लेख गर्दै मन्त्री भट्टले भने, 'कार्यदलले कुन उद्योगको अवस्था के छ, कति समर्थन मूल्य तिर्नेछ, सबै अध्ययन गरिरहेको छ, रिर्पोट आएपछि समस्या हल गरिन्छ।’
अनुदानको रकम कहिले सम्म दिन्छ सरकारले भने संचारकर्मीको प्रश्नमा उनले भने, ‘७० प्रतिशत भुक्तानी गरिसकेका छौं। जिल्लामा केही समस्या भएका छ भन्ने सुन्नेको छु। केही दिन भित्र यो समस्या पनि समाधन हुन्छ।’
लामो समयदेखि चिनी मिलले उखु किसानको बक्यौता नतिरेपछि उखु किसानले चरणबद्ध आन्दोलन गरेका थिए।
यसपछि मन्त्री भट्टकै रोहबरमा चिनी मिलले बुधबारसम्म सबै किसानको बाँकी भुक्तानी गरिसक्ने सहमति गरेका थिए।
बुधबारसम्ममा केही चिनी मिलले बक्यौता तिरेको तर अझ पनि १ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको छ।
उद्योगीको बैंक खाता रोक्का
मन्त्रालयले किसानको ठूलो रकम बक्यौता दिन बाँकी ३ उद्योगको बैंक खाता बन्द गरेको छ।
उद्योग मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बनी चिनी उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको मन्त्री भट्ट जानकारी दिए।
उद्योग मन्त्रालयकाअनुसार अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।
यसैगरी लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।