काठमाडौं– सभामुखको उम्मेदवारको रुपमा चर्चामा आएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रस्तावक राखेर नेकपाका सांसद अग्नि सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद सचिवालयमा मंगलबार दर्ता भएको उनको उम्मेदवारीमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थक बसेका छन्।
सरकारबाट बाहिरिएको राजपाले सभामखुमा नेकपाका उम्मेदवारलाई समर्थन दिँदै प्रस्ताव बसेको हो। सभामुख पदका लागि संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभामुखको उम्मेदवार छान्ने छलफलमै छ।
लामो रस्साकस्सीपछि सोमबार नेकपाले सभामुखमा सापकोटालाई चयन गरेको थियो। सभामुखमा सापकोटाको नाम तय भएसँगै उपसभामुख शिवमाया तुङबाहाम्फेले राजीनामा दिएकी थिइन् । उनी अब मन्त्रि बन्ने तयारीमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।