काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छिन्।
सोमबार उपसभामुखबाट राजीनामा दिएपछि उनले आफ्नो ‘ट्र्याक चेन्ज’ हुने बताएकी थिइन्। जुन उनले खुलाउन चाहनिन्। उनी निकट स्रोतका अनुसार केही दिनमै उनलाई मन्त्रीका रुपमा देख्न सकिनेछ।
उनले तत्काललाई गोप्य भनेको ‘ट्र्याक चेन्ज’ मन्त्री रहेको बुझिएको छ। उपसभामुखबाट राजिनामा दिनुअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग उनले मन्त्री बन्ने सहमति गरेकी हुन्।
तुम्बाहाङ्फेलाई अध्यक्षद्वयले एक महिनाअघि नै मन्त्री पद अफर गरेका थिए। तर, उनले प्रतिनिधिसभा नेतृत्वविहीन बनाएर आफू मन्त्री नहुने बताएकी थिइन्। त्यसपछि उनले सभामुखका लागि लबिङ गरेकी थिइन्।
अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको बैठकपछि अध्यक्षद्वयलाई उनले भेटकी थिइन्। अर्कैले गरेको सजायको भागीदार आफू हुनुपरेको तुम्बाहाङ्फेको गुनासो थियो। त्यसैको क्षतिपूर्ति स्वरुप उनलाई कुनै मन्त्रालयको जिम्मेवारी तत्काल नै दिने आश्वासन दिइएको हो।
नेकपा स्रोतका अनुसार केही दिनमै खाली रहेका दुई मन्त्रालयले मन्त्री पाउँदैछन्। समाजपादी पार्टी नेपालले सरकार छाडेपछि कानुन र सहरी विकास मन्त्रालयमा छुट्टै मन्त्री छैनन्। सहरी विकासको जिम्मेवारी सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा र कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हालिरहेका छन्।
प्रधानमन्त्री ओलीले फागुन पहिलो साता फेरि मन्त्री परिषद् पुनर्गठन गर्ने तयारी गरेको बुझिएको छ। अहिले राष्ट्रियसभाको उम्मेदवार बनेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उक्त मन्त्रीमण्डलमा सहभागी हुने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।