काठमाडौं- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पदत्यागको घोषणा गर्दै सभामुख पदमा उम्मेदवार नतोक्दासम्म राजीनामा दिने आफ्नो अडान कुनै आग्रह वा आकांक्षा राखेर नगरेको दाबी गरेकी छन्।
‘देशले उपयुक्त निकास पाउनु पर्छ भनी मैले सबैको ध्यानाकर्षण गराउँदै आएको छु,’ उनले प्रतिनिधि सभालाई सम्बोधन गर्दै भनिन्, ‘उपसभामुख पद खाली राखेर जान सक्दैन भन्ने मान्यताका आधारमा मैले दलहरुलाई उम्मेदवार तोक्न भनेकी थिएँ।’
संसदमा बहुमत प्राप्त दलले उम्मेदवार तय गरेको अवस्थामा आफूले मार्ग प्रशस्त गर्ने निर्णय गर्दै पदत्याग गरेको घोषणा उनले गरेकी हुन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले समावेशी लोकतन्त्र हाम्रो महत्वपूर्ण विशेषता भएकाले त्यसप्रति राजनीतिक दल र दलका नेतृत्वलाई स्मरण गराइन्।
‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन यसलाई अभ्यास र वचनबाट पनि लागू हुनुपर्दछ,’ उनले भनिन्, ‘संविधान निर्माणमा अगुवाई गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिक रहनुहुन्छ भन्ने मेरो विश्वास छ।’
उपसभामुखको रुपमा रहँदा र सभामुख रिक्त रहँदा आफूले यस बारेमा धेरै प्रतिक्रिया पाएको भन्दै उनले समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने दाबी गरिन्।
‘जनताको सुक्ष्म निगरानी गरिरहेको हुन्छन्,’ उनले भनिन्, ‘उचित सामाञ्जयस्यता हुनुपर्ने कुरा सवैले ध्यान पुर्याउनु पर्दछ।’
आफूले सभामुखको पदमा रहँदा दलको निर्देशनमा नभई संविधानअनुसार काम गरेको दाबी गर्दै उनले यो अवसर दिने सबैलाई धन्यवाद दिइन्।
‘कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुदैन,’ उनले भनिन्, ‘मैले बहुमत दलको निर्णयलाई सहजीकरण गर्न जरुरी ठानेर यो निर्णय गरेकी हुँ।’
जनजाति, एकल महिलाले पाएको अवसरलाई मैले महत्वपूर्ण अवसरको रुपमा उपयोग गरेको दाबी उनले गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।