काठमाडौं– नेपालीहरुको भान्सा थप महंगिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कअनुसार उपभोक्ताको मूल्यवृद्धि ६.५५ प्रतिशत पुगेको छ। चार महिना अवधिमा उपभोक्तातर्फको मूल्यवृद्धि ५.७६ प्रतिशत थियो।
मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत छ।
उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ। गैर खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशतले मूल्य बढेको छ। २०७५ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मुद्रास्फीति थियो।
मंसिरमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेकोमा भारतमा यस्तो (डिसेम्बर महिनाको) मुद्रास्फीति ७.३५ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३.७१ प्रतिशत र २.११ प्रतिशत थियो ।
विप्रेषण आप्रवाह ०,१ प्रतिशतले बढेको छ। जबकि गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको छ। मंसिर मसान्तसम्ममा तीन खर्ब ७६ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अहिले विदेशी विनिमय सञ्चिती १० खर्ब ८८ अर्ब रुपैयाँ छ। उक्त सञ्चितिले ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चार प्रतिशतले बढेको छ। निजीक्षेत्र तर्फको कर्जा लगानी भने ६.२ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशतले बढेको छ तर कर्जाको वृद्धिदर भने १५ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।