काठमाडौं- सेयर बजार एक वर्षयताकै अधिकतम बिन्दुमा उकल्लिएको छ।
सूचकमा सुधार भएसँगै कारोबार रकम पनि एक वर्षयताकै अधिकतम हुने क्रममा छ।
आइतबार सूचकमा आएको सुधारसँगै कारोबार रकम दुई अर्ब ९ करोड रुपैयाँको भएको छ।
ठिक एक वर्ष अगाडि दुई अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
साताको पहिलो दिन नेप्से सूचक ३३.४३ अंकले सुधार हने क्रममा वर्ष यताकै अधिकतम बिन्दुलाई चुमेको हो।
आइतबार नेप्से सूचक २.५५ प्रतिशतले सुधार भएर १३४३.६५ अंकमा रोकिएको छ।
बजारले बुलिस ट्रेन्डलाई समातेसँगै सूचक र कारोबार रकम दुवै सुधार हुने क्रममा छ।
लगानीकर्ता, सरकारी निकायले बजार धेरै नै तल्लो बिन्दुमा झरेकोले लगानी गर्न आह्वान गरिरहेका छन्।
आइतबार १ सय ७८ वटा कम्पनीको सेयर खरिद बिक्रि हुँदा २७ वटा कम्पनीको सेयर सर्किट लाग्ने अवस्थामा पुगेको छ।
आइतबार १ सय ३१ वटा कम्पनीको सेयर मूल्यमा सुधार आउदा २३ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ।
ट्रेडिङको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्। बजार सुधारका लागि सबैभन्दा धेरै बीमा कम्पनीले टेवा पुर्याएका छन्। बीमा कम्पनीको सूचक ६ प्रतिशत भन्दा धेरै सुधार भएको छ। पछिल्लो समय बीमा कम्पनीको सेयर मूल्य धेरै नै तल झरेको थियो।
सेयरधनीहरुले बीमा कम्पनीको सेयर मूल्यमा सुधार आउदा पहिलाकै अवस्थामा पुग्ने आकलन गर्दै सेयर उठाइरहेका छन्। यसरी बीमाको सेयर बिक्री गरेर बैंकको सेयर खरिद गर्ने त्यस्तै माइक्रोफाइनान्सको सेयर बिक्री गरेर बीमा कम्पनीको सेयर खरिद गर्ने प्याट्रनले दोस्रो बजारमा कारोबार रकम पनि बढिरहेको छ।
सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरीको १२ करोड १५ लाख रुपैयाँ र शिवम सिमेन्टको १० करोड रुपैयाँको खरिद बिक्री भएको छ।
नेपालको इतिहासमा सबैभन्दा धेरै दुई अर्ब ७५ करोड रुपैयाँसम्मको कारोबार भएको छ। तर सो समयमा अहिलेको जति सेयर पुँजी सूचीकृत थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।