काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकखण्ड विस्तार यो वर्ष सुरु नहुने भएको छ। सरकारले सडक विस्तारका लागि एसियाली विकास बैंकबाट ऋण लिन सम्झौता गरिसकेको भए पनि आयोजनाको काम अघि नबढ्ने भएको हो।
एसियाली विकास बैंकले सासेक सडक सुधार कार्यक्रमअन्तर्गत १८ करोड अमेरिकी डलर ऋण उपलब्ध गराएको यो आयोजना यसै वर्षबाट अघि बढाउने भनिएको थियो। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काम अघि बढाउन नसक्ने बताएको छ। कूल ८६.८२ किलोमिटर सडकखण्ड विस्तार गर्न सरकारले पनि ६ करोड ५० लाख डलर खर्च गर्ने एडिबी र सरकारबीच भएको सम्झौता पत्रमा उल्लेख छ।
यो परियोजना विस्तारको कुल लागत २४ करोड ५० लाख डलर अर्थात २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी छ। केही दिनअघि अर्थमन्त्री डा युवराज खतिवडालाई मन्त्रालयगत प्रगति ब्रिफिङ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यो वर्ष आयोजना अघि बढाउन नसकिने बताएका थिए।
ऋण सम्झौता भएको लामो समयसम्म पनि ठेकेदार छनोट नै नगरेको र काम अघि नबढाएको भन्दै अर्थले भौतिक मन्त्रालयसमक्ष असन्तुष्टि जनाएको थियो। गत वैशाखबाट सडक विभागले आयोजना अघि बढाउन ठेक्का प्रक्रिया अघि बढाउने भने पनि अझै काम सकेको छैन।
आयोजना ठेक्का प्रक्रियामा रहेको सडक विभागले जनाएको छ। ‘पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको यो सडक खण्डको विस्तारका लागि ठेक्का लगाउने प्रक्रियामा छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘दाताको ऋण सहयोगमा विस्तार हुन लागेकाले उसँग पनि सहमति लिनुपर्ने भएकाले केही समय लागेको हो।’
सडक विभागले आफ्नो तर्फबाट काम अन्तिम चरणमा पुर्याएकाले एडिबीसँग सहमति लिएर फेब्रुअरी अन्तिमसम्म ठेक्का लाग्ने शर्माको भनाइ छ। सडक विभागले एसियाली मापदण्डको सडक बनाउनु पर्ने र ठूलो ठेक्का भएकाले नेपाली निर्माण व्यवसायी सहभागी हुन नसक्ने गरि ठेक्का प्रक्रिया अघि बढाएको थियो। नेपाली निर्माण व्यवसायीलाई सडक बिस्तार प्रक्रिया बाहिर राख्न खोजेको भन्दै रमण कन्स्ट्रक्सनले बोलपत्रको मूल्यांकन र योग्यता मापदण्डका बारेमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
अदालतले २०७५ मंसिर १६ गते मूल्यांकन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। यो निर्णयसँगै मूल्यांकन प्रक्रिया अघि बढ्न सकेको थिएन। तर माघ २४ गते अदालतले रिट खारेज गरेपछि मूल्यांकन प्रक्रिया पुनः सुरु गर्न सडक विभागलाई बाटो खुलेको थियो। एसियाली मापदण्ड अनुसारको सडक निर्माण गर्न लागेको र नेपाली निर्माण व्यवसायीको क्षमताभन्दा ठूलो ठेक्का बन्न गएकाले प्रक्रियामा सहभागी हुन नपाएका हुन्। कमला–कञ्चनपुर सडक खण्ड अन्तर्गतको ८७ किलोमिटर सडक दुईवटा प्याकेजमा बाँडेर बिस्तार गर्न खोजिएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।