काठमाडाैं- नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्। नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन्।
निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरे।
यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भए।
यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन्। निर्वाचनमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ।
नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन्। गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन्। नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए।
नवनिर्वाचित अध्यक्ष गुरागाईंले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने समूहले जीत हासिल गरेको बताए। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।