लुम्बिनी– सन् २०१९ मा बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका १ सय १५ देशका पौने दुई लाख पर्यटक आएका छन्। विश्वकै आस्था र आकर्षणको केन्द्रका रुपमा रहेको लुम्बिनीमा पछिल्ला वर्ष पर्यटक आवागमन बढेको छ।
बिश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा घुम्नका लागि सन् २०१९ मा १ सय १५ देशका १ लाख ७४ हजार १५ जना पर्यटक तथा श्रद्धालु आएको लुम्बिनी विकास कोषको तथ्याङक छ। सन् २०१८ मा १ सय ८ देशका १ लाख ६९ हजार ९ सय ४ जना विदेशी पर्यटक आएका थिए।
लुम्बिनीमा श्रीलंका, थाईल्याण्ड, भियतनाम, चीन, कम्बोडिया, फ्रान्स, जर्मनी, ईन्डोनेसिया, जापान, मलेसियासहित इरान, इराक, सिरिया, उरुग्वे, ताजकिस्तान, क्युबा, दक्षिण अफ्रिका र बुर्किनाफासो लगायतका मुलुकबाट पर्यटक घुम्न आएका थिए।
कहाँबाट कति पर्यटक?
लुम्बिनीमा सबैभन्दा बढी पर्यटक श्रीलङकाबाट आएका छन्। श्रीलङकाबाट ४७ हजार ५ सय ७ जना आएका छन्। त्यस्तै दोश्रोमा म्यानमारबाट ३० हजार ७ सय ९१, थाईल्याण्डबाट २८ हजार ३ सय ६४, चीनबाट २१ हजार २ सय ६९ पर्यटक आएका छन्।
त्यस्तै भियतनामबाट ८ हजार ३ सय ४५, दक्षिण कोरियाबाट ६ हजार १ सय ४५, जर्मनीबाट ३ हजार ३ सय ६, फ्रान्सबाट २ हजार १७, जापानबाट २ हजार ५६, मलेसियाबाट १९ सय ९५ पर्यटक आएका छन्। लुम्बिनीमा इरानबाट २९, सिरियाबाट, दक्षिण अफ्रिका ४९, सर्बियाबाट ८, साउदी अरबबाट ८, उरुग्वेबाट ७ तथा फिलिपिन्सबाट ७ जना आएका छन् ।
सन् २०१८ मा बौद्धमार्गी मुलुक श्रीलङकाबाट ५९ हजार ९ सय ५९ पर्यटक लुम्बिनी आएका थिए। त्यस्तै थाईल्याण्डबाट २६ हजार ६ सय ७७, म्यानमारबाट २५ हजार ३ सय ३३ र चीनबाट १८ हजार ४ सय ६० पर्यटक आएका थिए। लुम्बिनीमा आउने पर्यटकमध्ये २०१८ को तुलनामा श्रीलङकाका पर्यटकमा कमी आएको छ । २०१८ मा ५९ हजार ९ सय ५९ जना आएकोमा २०१९ मा ४७ हजार ५ सय ७ जनामात्र आएका छन्। यो सङख्या १२ हजार ४ सय ५२ ले कमी हो।
२०१८ को तुलनामा म्यानमार, थाईल्याण्ड तथा चीनबाट आउने पर्यटकको संख्यामा भने क्रमशः वृद्धि भएको छ। थाईल्याण्डबाट ४ हजार, म्यानमारबाट ५ हजार र चिनबाट ३ हजार पर्यटक २०१८ को तुलनामा बढी आएका छन् ।
यी देशबाट आए १ वर्षमा १ जनामात्र पर्यटक
बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षमा एक जनामात्र पर्यटक पनि आएका छन्। लुम्बिनीमा अल्बेनिया, एन्डोरा, ताजकिस्तान, बहामास, बहराईन, बोलिभिया, साईप्रस, लेबनान, जिम्बाबे, पलाउ र लिबियाबाट १÷१ जना पर्यटक आएका थिए। त्यस्तै अल्जेरियाबा २, इराकबाट २, बुर्किनाफासो २, बोत्स्वानाबाट २, ईस्टोनियाबाट २, होन्डुरसबाट २, कुवेतबाट २, मलडोभाबाट २, मोनाकोबाट २, मोन्टेनिग्रोबाट २, दक्षिण सुडानबाट २, युएईबाट २, आएका छन् ।
लुम्बिनीको प्रचारप्रसार विश्वभर फैलिँदै गएको तथा मुलुकको सहज अबस्थाका कारण लुम्बिनी आउने पर्यटकको सङख्यामा क्रमश वृद्धि भईरहेको कोषका सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।
मुलुकमा बन्द, हड्ताल, आन्दोलनलगायतका क्रियाकलापमा कमी आउनु तथा राजनीतिक स्थिरताका कारण लुम्बिनीलगायत देशका पर्यटकीय गन्तव्यमा पर्यटक आवागमनमा वृद्धि भएको सदस्य सचिव भट्टराईको भनाइ छ। ‘लुम्बिनीमा भएको योजनाबद्ध विकास तथा लुम्बिनी सुन्दर बन्दै गएकाले पर्यटक बढेका हुन्,’ सदस्य सचिव भट्टराईले भने, ‘प्रदेश र संघीय सरकारले विभिन्न देशमा गएर गरेका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका कारण पनि लुम्बिनीमा पर्यटक आवागमन बढेको हो ।’
लुम्बिनीमा पर्यटक, तीर्थयात्री, भिक्षु–भिक्षुणी, उपासक–उपासिका आउने क्रम बढेको कोषले जनाएको छ । लुम्बिनीको पर्यटन प्रबद्र्धन र प्रचारप्रसारका लागि प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ मनाईरहेको छ। संघीय सरकारले नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमण २०२० मनाउँदैछ।
लुम्बिनीमा केही वर्षदेखि आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठलगायतका बौद्धसम्बन्धी कार्यक्रमका कारण पनि बौद्धमार्गी तथा अध्येताको ध्यान लुम्बिनीमा तानेको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा कात्तिक २८ देखि ३० गतेसम्म त्रिपिटक पाठ गरिएको थियो। कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशका सयौं भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता थियो।
लुम्बिनीमा भएका यस्ता खालका कार्यक्रमले यहाँ पर्यटक आवागमनमा वृद्धि हुने गरेको भिक्षु सागरधम्मले उल्लेख गरे। उनले लुम्बिनीमा पर्यटकीय वातावरण बन्दै जानुका साथै सुन्दर बन्दै गएका कारण लुम्बिनी आउने पर्यटकको सङख्यामा वृद्धि भएको बताए ।
‘अहिले लुम्बिनीमा अत्याधिक मात्रामा पर्यटक बढ्नुको अर्को कारण भनेको मिडिया हो,’ भिक्षु धम्मले भने, ‘विश्वभरका मिडियामा लुम्बिनीको प्रचार प्रसार व्यापक छ।
लुम्बिनीमा सन् २०१९ को जनवरीमा १३ हजार ६ सय १९, फेब्रुअरीमा २५ हजार ८ सय ६८, मार्चमा २९ हजार ४००, अप्रिलमा ८ हजार ६ सय ५०, मेमा ३ हजार २ सय २८, जुनमा २ हजार ३ सय ९०, जुलाईमा ३ हजार ३ सय ७६, अगस्टमा १४ हजार ७ सय ३८, सेप्टेम्बरमा ८ हजार ६ सय २७, अक्टुबरमा १८ हजार ५ सय ७७, नोभेम्बरमा २६ हजार ७ सय ७२, डिसेम्बरमा १७ हजार ८ सय ३८ पर्यटक आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।