काठमाडौं- नेपाल सरकारले आफ्नो भागको लाभांश लगिसकेपछि राष्ट्रिय वाणिज्य बैंकले माघ २४ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले तेह्रौ वार्षिक साधारणसभा बोलाएको हो।
बैंकको सञ्चालक समितिले यस अगाडि तय गरेको १२ प्रतिशत लाभांश साधारणसभाबाट पारित हुने छ। नेपाल सरकारले आफ्नो भागको लाभांश पुस मसान्तमै एक अर्ब ८ करोड रुपैयाँ लगिसकेको छ। बैंकको शेयर धनीमा साविक एनआईडिसीका सर्वसाधारण शेयर धनीको पनि स्वामित्व रहेको छ। एनआईडिसी अगाडि वाणिज्य बैंकमा नेपाल सरकारको पूर्ण स्वामित्व थियो।
हाल बैंकको सर्वसाधारण शेयर पूँजी ३० लाख ९१ हजार रुपैयाँ रहेको छ। उक्त शेयर नेपाल सरकारले प्रतिकित्ता चार हजार ४८४ रुपैयाँमा खरिद गर्न चाहे पनि सर्वसाधारणले बिक्री गर्न नमान्दा हाल वाणिज्य बैंकको नाममा रहेको छ।
सर्वसाधारणले भने तीन लाख ७० हजार ९२० रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछन्। साविकको एनआईडिसीको शेयर दोस्रो बजारमा सूचिकृत भए पनि हालको वाणिज्य बैंकको शेयर सूचिकृत छैन। त्यसैले सर्वसाधारण शेयरधनीहरुले लाभांश मात्रै प्राप्त गर्न सक्ने छन्।
साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ। गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। उक्त नाफा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक नाफा हो।
बैंकको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ भए पनि लाभांश भने १२ प्रतिशत मात्रै लैजाने भएको हो। यससँगै बैंकको जगेडा कोष थप बलियो हुनेछ। गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरणअनुसार बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।