काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नका लागि एनआइबिएल एस क्यापिटलसँग सम्झौता गरेको छ।
सेयर बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा बिहीबार एनआइबिएल एस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ।
सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन्।
पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ बैंक स्थापना भएको हो। प्रति कित्ता १०० का दरले ८ करोड कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो। सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो साधारण शेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो।
बैंकको कूल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ। सर्वसाधारणलाई साधारण सेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।