काठमाडौं- वाणिज्य बैंकले माघ १ गतेदेखि अनिवार्य रूपमा सीमाभन्दा बढी र शंकास्पद कारोबारको विवरण विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्ने भएको छ। बैंकहरूले यस्तो विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा 'गोएमएल प्रोडक्सन इन्भारमेन्ट' बाट मात्रै पेस गर्न सक्ने छन्।
नेपाल राष्ट्र बैंकले यसअघि नै विद्युतीय प्रणालीबाट जानकारी गराउन निर्देशन जारी गरेको थियो। उक्त निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न बिहीबार थप निर्देशन दिएको हो। उक्त प्रणालीबाट प्रतिवेदन पेस गर्दा राष्ट्र बैंकले सजिलै विवरण छानबिन गर्न सक्ने छन्।
यस प्रणालीको कार्यान्वयनले नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा प्रभावकारिता ल्याउने राष्ट्र बैंकले जनाएको छ। नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापममा वित्तीय लगानी भए नभएको विषयमा यसै वर्ष पारस्परिक मूल्याङ्कन गरिने भएको छ। उक्त मूल्याङ्कन सकारात्मक देखियोस् भनेर यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले यस्ता विषयमा मिहीन रुपमा अध्ययन गरिरहेको छ। यदि मूल्याङ्कनका क्रममा नकारात्मक सूचक देखा परेमा थप अप्ठारो पर्ने भन्दै विभिन्न प्रणालीको उपयोग गरिन थालिएको हो।
हाललाई वाणिज्य बैंकहरू मात्रै कार्यान्वयन गरिए पनि आगामी आर्थिक वर्षदेखि अन्य बैंक तथा वित्तीय संस्थाहरुमा पनि यसलाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।