नौ वर्षका लस्सानाको फुटबल प्रेम गजवको थियो। उनकै उमेरका अन्य बालबालिकाको जस्तै। स्पेन बार्सिलोनामा आफू बस्ने घरको बाहिर सडकमा, पार्कमा उनी घन्टौँ फुटबल खेलेर बिताइदिन्थे।
त्यसरी सडकमा साथीहरुसँग फुटबल खेल्दै बढेका हजारौँ केटाकेटीको ‘स्टार खेलाडी’ बन्ने रहर पूरा हुन कठीन छ। तर, लस्सानाको फुटबल कला भने नजरमा पर्यो। त्यो पनि बार्सिलोनाको। विश्वकै ठूलो मानिने एक क्लब।
लस्सानाले सडक किनारमा खेलेको फुटबल बार्सिलोनाले नियाल्नु उनका लागि राम्रै भयो। बार्सिलोनाको ‘युथ एकेडेमी’मा उनलाई लैजाने कुरो चल्यो, जहाँबाट लियोनल मेस्सी जस्ता युगले सम्झिने खेलाडी जन्मिएका थिए।
तर यस्तो क्षणमा खुसी साट्न लस्सानाका बुबा उसमान त्यहाँ थिएनन्। कामको खोजीमा उसमान बेलायतको बर्मिङहम गएको महिनौँ भइसकेको थियो। कोसौँ टाढा भए पनि उसमानले छोरा लस्सानासँगै मोहम्मदुको फुटबल खेल्ने चाहना पूरा गर्न प्रयास गरिरहेकै थिए। छोराहरुको हरेक खेलअघि टेलिफोनबाट नै हौसला दिन्थे।
तर, त्यो एक रातपछि छोराहरुलाई उसमानको फोन कहिल्यै आएन।
....................
सन् २०१६ को अगस्ट ७ को दिन। युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र जर्मनीबीच खेल चलिरहेको थियो। त्यही खेल हेर्न लस्साना र उनका दाइ मोहम्मदु टेलिभिजनमा एकोहोरो भइरहेका थिए।
भोलिपल्ट मोहम्मदु आफ्नै क्लबको प्रतियोगितामा पनि खेल्नुपर्ने थियो। वाट्सएपमा हेर्दा उनका बुबा उसमान बिहानसम्म अनलाइन रहेको देखियो। युरोकप हेर्दै उनीहरु बुबाको फोन आउने प्रतीक्षामा थिए।
आमा एमिनाटा चिन्ता नलिएको जस्तो देखिने प्रयासमा थिइन्। चिन्ता त थियो नै। उसमान बेलायततिर काम खोज्दै गएको पहिलो दिनदेखि नै फोन नआएको भनेको दिन थिएन। एमिनाटा केहीबेर घरको काममा नै व्यस्त भइन्, र प्राय रोइरहने सानी छोरी फान्टालाई भुलाउन थालिन्।
लस्साना र मोहम्मदु बुबाको फोनको पर्खाइमा नै थिए। अब त फ्रान्स र जर्मनीको खेल पनि सकिनै लागिसक्यो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले दुई गोल हानिसके। ठीक त्यही बेला कसैले ढोका ढकढकाएको जस्तो लाग्यो। उनीहरुको काका किमो आएका रहेछन्।
किमोले भाउजु एमिनाटासँग केही कुरा गरे। उसमानले काम गर्ने ठाउँमा केही दुर्घटना भएको खबर किमोले सुनेका रहेछन्। त्यही सुनाउन उनी भाउजू भएठाउँ आएका थिए। उसमान बर्मिङहममा रहेको कवाडी सामान पेल्ने कारखानामा काम गर्थे। प्राय त फलामकै काम हुन्थ्यो।
किमोले भाउजुलाई सुनाए- ‘दुर्घटनाको खबर सुनेदेखि कसैसँग कुरा हुन सकेको छैन।’
किमो त्यस्तो अतालिएर आएको देखेर नै एमिनाटाको मनमा चिसो पसिसकेको थियो। केही नराम्रै खबर हो भन्ने उनलाई लाग्यो।
उनले देवरलाई भनिन्- ‘उसँग मैले बिहे गरेकी हुँ, उसको बानी मलाई थाहा छ। यसरी फोन नगरी बस्ने मान्छे होइन। केही त भएकै छ।’
किमोले दिन आएको खबर एमिनाटाले बुझिसकेकी थिइन्। उनका श्रीमान् उसमानको कामकै बेलाको दुर्घटनाले ज्यान गएको थियो।
त्यसको एक हप्तापछि लस्सानालाई बार्सिलोनाको ‘युथ एकेडेमी’ले आबद्ध गर्यो। तर, त्यसकै भोलिपल्ट आमा र केही आफन्तसँगै उनी बुबाको लास चिन्न बेलायत लागे।
दुर्घटनामा मर्नुअघि उसमानले आफ्ना परिवार बेलायतसम्म आउन पुग्ने पैसा जोगाएका थिए। तर त्यसरी पैसा जम्मा पार्नुको उनको उद्देश्य आफ्नो मृत्युपछि आउन् भन्ने थिएन। उसमानको फुटबल सफलतामा सबै सँगै रमाउन चाहन्थे। तर, त्यस्तो हुन सकेन।
विमानस्थलमा ओर्लने बित्तिकै उनीहरुलाई प्रहरीले फेला पार्यो। त्यस्तोमा आत्तिएकी एमिनाटालाई के गर्ने भन्ने थाहा भएन। बुझेसम्म प्रहरीको निर्देशन पालन गरिन्।
‘मलाई एकदमै अप्ठ्यारो परिरहेको थियो। अगाडि बढ्नै सकिनँ। प्रहरीले मलाई एउटा कोठामा लिएर गए। यस्तो महसुस भयो कि कसैले मेरो हिँडिरहेको गोडा बाँधिदिएको छ’ एमिनाटाले सम्झिइन्।
उनलाई लगिएको कोठामा बेलायत नै बस्ने उसमानका भाइ पनि रहेछन्। जसले प्रहरीको आग्रहमा दोभासेको काम गरिरहेका थिए। एमिनाटाले बोलेको मातृभाषा मानदिन्का (पश्चिम अफ्रिकामा रहने मालिन्के जातका समूहले बोल्ने भाषा) लाई उनले अंग्रेजीमा प्रहरीलाई बुझाइरहेका थिए। प्रहरीले भनेको कुरा एमिनाटालाई।
प्रहरीले भनेका थिए- फलामको काम गरिरहेको समयमा उसमानसहित अरु चार जनालाई नजिकैको पर्खाल ढलेर किचेको थियो।
प्रहरीले अन्तिम पटक उसमानको लास हेर्न एमिनाटालाई आग्रह गरे। तर, आँसु थाम्न नसकेकी उनले लास हेर्ने आँट गरिनन्।
....................
‘मलाई बार्सिलोनाले बोलाएको सुनेर बुबा असाध्यै खुसी हुनुभएको थियो’ अहिले १३ वर्ष पुगेका लस्साना सुनाउँछन्।
‘म पनि असाध्यै खुसी भएको थिएँ। यदि उहाँ बाँचिरहनु भएको भए मलाई अझ मेहनत गर भनेर हौसला दिइरहनु हुन्थ्यो होला। किनभने फुटबल खेलाडी बन्न असाध्यै गाह्रो छ’ उनले भने।
उसमानको मृत्युपछि लस्साना र उनको परिवारको समय असाध्यै कष्टकर छ। उनीहरुको बुबाको दुर्घटनाले ज्यान गएको तीन वर्ष बितिसक्दा पनि अझै कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति पाएका छैनन्।
दुई छोरा र दुई छोरीसहितको परिवार एमिनाटाले मुस्किलसँग चलाइरहेकी छिन्। उनीहरुसँग खर्च गर्न महिनामा एक हजार युरो मात्रै हुन्छ। खाने लाउने बाहेक बालबच्चाका लागि अरु आवश्यकता त धेरै परको कुरा भएको छ। बालबच्चाको जन्मदिनमा उनी आफै दुःख गरेर केही मीठो मसिनो पकाउँछिन्।
‘दुःखमा बितेको हरेक दिनको खानपानबाट केही पैसा बचाएर विद्यालयको भ्रमण र किताब कापीमा पैसा खर्च भइहाल्छ’ एमिनाटाले सुनाइन्।
‘मैले आफ्नै लागि केही सामान कहिले किनेको थिएँ त्यो पनि मलाई याद छैन। मलाई केही चाहिएको छ भन्ने याद पनि हुँदैन। उसमानको निधनपछि मैले केही किन्ने सोचेकै पनि छैन। हरेक दिन बाँच्नै पर्यो अनि छोराछोरीको आवश्यता सकेसम्म पूरा गर्नै पर्यो।’
....................
सन् २००० आसपासको समय कामको खोजीमा उसमानले सेनेगल छाडेका थिए। पश्चिम अफ्रिकाका धेरैको जस्तै उनको पनि रोजाइँ स्पेन नै बन्यो। जहाँ उनी कानूनी मान्यता पाएर नै बसिरहेका थिए र सुरक्षा गार्डको काम गर्थे।
उनको परिवार चलिरहेकै थियो। तर सन् २००८ तिर स्पेनको अर्थतन्त्र नराम्ररी प्रभावित भयो। त्यसले उसमानको कामको समय घन्टौँ कम भयो।
विस्तारै घटाउँदै लगिएको कामबाट उनलाई निकालियो। नयाँ जागिरको दौडधुप सफल नभएपछि उनी सन् २०१६ को मार्च महिनामा काम खोज्नै बेलायत लागे। त्यसको चार महिनामा त उनले धर्ती नै छाडिहाले।
हुन त उसमानले काम गरिरहँदा पनि एमिनाटालाई घर चलाउन मुस्किल नै थियो। किनभने श्रीमती र छोराछोरीलाई मात्र होइन उसमानले सेनेगलमा रहेका आफन्तलाई पनि हेर्नु परिरहेको थियो।
हरेक महिना आमालाई उनी दुई सय युरो पठाइदिन्थे। त्यसबाटै सेनेगलमा रहेका उनका ६ भाइबहिनीलाई पनि केही खर्च पुगिरहेको थियो। कहिलेकाहिँ त आदरस्वरुप उनी एमिनाटाका बुबालाई पनि केही पैसा पठाइदिन्थे।
उसमानसँगै दुर्घटनामा परेका जाम्बियाका साथीको पनि जीवन त उस्तै नै थियो। मर्ने गरी काम गर्ने अनि परिवारलाई पैसा पठाउने। तर उनीहरुको कमाइ घन्टाको ७ पाउण्ड मात्रै थियो। त्यही ७ पाउण्डले धेरैको जीवन चलिरहेको थियो। त्यसैले त कमाउने मान्छेको मृत्युले उनीहरुको जीवन चरम गरिबीमा पर्यो।
उनीहरुको मृत्यु भएको साढे तीन वर्षमा पनि परिवारको प्रश्न एउटै छ- ‘आखिर मृत्यु कसरी भएको थियो?’
दुर्घटनापछिको एउटा छानबीनले उनीहरुको मृत्यु भवितव्य भए पनि त्यसमा कम्पनीको लापरबाही देखिएको उल्लेख गरेको थियो। श्रेडमेट नामको उनीहरु काम गर्ने त्यो कम्पनीले आफ्नो पर्खाल कमजोर रहेको जान्दाजान्दै पनि मर्मत गरेको थिएन। न त त्यसको जानकारी नै गराएको थियो।
यस्तोमा बेलायतको स्वास्थ र सुरक्षा कार्यकारीको अनुसन्धान त अझै निष्कर्षमा पुग्न सकेको छैन।
परिवारको कुरा सुन्दा दुर्घटनापछि कम्पनीले उनीहरुसँग कुराकानी नै गरेको छैन। त्यसले आफूहरु वेवास्तामा परेको दुःख उनीहरुलाई छ।
एमिनाटा भन्छिन्- ‘ती कम्पनी वालाहरुलाई मान्छेको जीवनको महत्व छैन। म श्रीमानको लास पहिचान गर्न बेलायत जाँदा पनि कम्पनीको तर्फबाट कसैले कुरासम्म पनि गरेका थिएनन्। उनीहरुलाई मान्छेको केही मतलब नहुने रहेछ।’
....................
अहिले त एमिनाटाको परिवारमा अर्को झड्का लागेको छ। लस्सानालाई बार्सिलोनाले आफ्नो टिमबाट छाडिदियो।
तर लस्साना भने बार्सिलोनाले निकालेको कुरामा धेरै चिन्तित छैनन्। उनलाई लाग्छ- कडा मेहनत गरेर आफ्नो खुबी देखाउने हो भने बार्सिलोनाले फेरि बोलाउन करै लाग्छ।
उनी अझै आफू त्यो उचाइमा पुग्ने र राम्रो फुटबलर बन्ने एकीनमा छन्, आफ्ना बुबाको सपना पूरा गर्नका लागि पनि। तर उनको मनमा अहिले अर्को कुरा पनि गडेको छ- आखिर बुबाको मृत्युको कारण के थियो?
‘त्यो कम्पनीले गरेको गल्ती पत्ता लगाउन आवश्यक छ। यो पैसा पाउने या नपाउने कुरा होइन। हामीलाई न्याय चाहिन्छ।’
(यो सामग्री बिबिसीमा क्यारोलिन गलले ‘आफ्टर दि वाल फेल’ सिरिजमा लेखेको ‘लस्साना’लाई नेपाल लाइभका ऋग्वेद शर्माले अनुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।