काठमाडौं- साउदी अरबमा होटलको काम भनेर पुर्याइएका १० जना युवा अलपत्र परेका छन्।
दुई महिनाअगाडि ओमामा म्यानपावर प्रालिमार्फत साउदी पुगेका १० जना नेपाली अलपत्र परेका हुन्। अलपत्र पर्नेमा कपिलवस्तुका रसिद नट, मोहम्मद नसिम नट, मुबारक मुसलमान, मैराज अहम्मद, नौसाद आलम मुसलमान, गुलाम हुसेन गद्दी, अरमान अलिनाथ, अब्दुल जब्बार रहेका छन्।
होटलमा क्लिनर काम भनेर उनीहरुलाई सप्लाई कम्पनीमा पुर्याइएको पीडित युवाहरुले आफन्तलाई जानकारी गराएका थिए। सप्लाई कम्पनीले उनीहरुलाई दिनभरी कठिन काम लगाएको तर पारिश्रमिक नदिएको युवाहरुले परिवारसँग गुनासो गरेका हुन्।
म्यानपावरले खान बस्नसमेत कम्पनीले दिने सुनाए पनि कम्पनीले खान बस्नसमेत दिएको छैन। ‘१ लाख २५ हजार ऋण गरेर छोरालाई साउदी पठाएको कम्पनीले तलब दिएन काममात्रै गर्नुपरेको छ, काम पनि कठिन छ भनेर छोराले भनिरहेको छ।’ साउदीमा अलपत्र परेका कपिलवस्तुका रसिद नटाका बुबा सहिस नटाले बताए।
अलपत्र परेकाहरुलाई उद्धार गरिपाउँ भन्दै पीडितका आफन्तहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
उजुरी दिएको लामो समयसम्म पनि म्यानपावर कम्पनी छलफलका लागि विभागमा उपस्थित भएको छैन। जसले गर्दा बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन। वैदेशिक रोजगार विभागले म्यानपावरलाई २४ घण्टाभित्र उपस्थित भइसक्नुपर्ने पत्र काटेको छ।
म्यानपावर कम्पनीले भोलिभोलि भन्दै पीडित पक्षलाई झुलाइरहेको पीडित पक्षको गुनासो छ। नेपाल लाइभले ओमामा म्यानपावरसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।